४ फागुन, काठमाडौं । मौद्रिक नीति समीक्षापछिको लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २१.१५ अंक (१.०१ प्रतिशत) ले गिरावट हुँदा २०७०.४१ अंकमा बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । त्यसयता चार दिन कारोबार भएको सेयर बजारमा चार दिन नै बजार परिसूचक नेप्सेमा गिरावट भएको हो । पछिल्लो चार कारोबार दिनमा नेप्सेमा ११२ अंकको गिरावट भइसकेको छ । मौद्रिक नीतिको समीक्षाले ब्याजदर घटाउने र मौद्रिक नीति केही खुकुलो बनाउने अपेक्षामा रहेका सेयर लगानीकर्ता राष्ट्र बैंकले कसिलो नीतिलाई नै निरन्तरता दिएपछि त्यसयता सेयर बजार लगातार घटिरहेको छ ।
बिहीबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । बिहीबार उत्पादनमूलक उपसूचक सर्वाधिक १.९३ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लघुवित्त र बीमा उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।
आइतबार ३ अर्ब माथिको कारोबार भएको नेप्सेमा त्यसयताको तीन कारोबार दिनमा कारोबार २ अर्ब पुगेको छैन । बिहीबार नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ३८ लाख २८ हजारको कारोबार हुँदा अपी पावरको ५ करोड १३ लाख ७४ हजार र ङदी ग्रुप पावरको ४ करोड ३६ लाख ४३ हजारको कारोबार भएको छ ।