२७ माघ काठमाडौँ। विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केहीबेर अघि महाधिवेशन उद्घाटन भएको हो।
उद्घाटन सत्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित छन्।
महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तथा विभिन्न दलका नेतालाई निमन्त्रणा गरिएको छ।
कार्यक्रममा देशभरबाट ४ देखि ५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। आज उद्घाटन कार्यक्रम र बन्दसत्र हुने र भोलि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गरिने नेता मिलन पाण्डेले जानकारी दिए। नयाँ नेतृत्व चयनका लागि विवेकशील पार्टीका पूर्वनेता केशव दाहालको नेतृत्वमा निर्वाचन समिति बनाइएको छ।