प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् । ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उनले प्रस्ताव गरेका छन्, ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’
प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकारेका छन् ।
प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गरेका छन् ।
‘यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ,’ पार्टी सदस्य बराबर पनि समानुपातिक मत प्राप्त गर्न नसक्नुले संगठनको अवस्थालाई उजागर गरेको प्रचण्डले निष्कर्ष निकालेका छन् ।
प्रचण्डले पार्टीका नेताहरूले आफ्नो हैसियत र जिम्मेवारी प्रचारका लागि प्रयोग गरेपनि पार्टीको परिणामका लागि काम नगरेको आरोप लगाएका छन् । ‘हालको संगठनात्मक अवस्था न सदस्यको स्पष्ट नाम र सब्ख्या छ न त दाबी गरेका प्रवेश गरेका विभिन्न कमरेडहरूको पद र तहहरूको स्पष्टता छ । बैठक बस्न गाह्रो छ,’ उनले भनेका छन्, ‘विषयमा छलफल र बहस गरी निष्कर्षमा पुग्न कठिन संरचना, हैसियतलाई प्रचारका लागि उपयोग गरे पनि परिणाममा नजोडिने, जनता र वर्गसँग सम्बन्ध नराख्ने, केन्द्रमुखी प्रवृत्तिको बाहुल्यता भएको अवस्था रहेको छ ।’
प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।
हेर्नुहोस् प्रस्ताव-