१६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रामात्र नभई समृद्धि भएको बताएका छन् ।
शहीद दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले अहिले त्यही समृद्धिको अभियानमा ल लागि परेको बताएका छन् ।
‘यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं,’ ओलीले जारी गरेको सन्देशमा भनिएको छ ।
सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत् मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्रै शहीदले देखाएको मार्ग अनुशरण गर्न सकिने उनको भनाइ छ ।
उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्दि्रत गर्नेतर्फ एमाले लागेको दाबीसमेत गरेका छन् ।