मंगलबार, कात्तिक २० गते २०८१

भनसुन र नातागोताका आधारमा काम हुँदैनः नवनियुक्त मन्त्री किराती

भनसुन र नातागोताका आधारमा काम हुँदैनः नवनियुक्त मन्त्री किराती

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • भनसुन र नातागोताका आधारमा काम हुँदैनः नवनियुक्त मन्त्री किराती

    नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसंगतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

    images

    राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताए। 

    यस्तै, उनले हवाई सुरक्षामा विशेष ध्यान दिने बताए। उनले हवाई उडानलाई व्यवस्थित बनाउँदै यसलाई सुरक्षित बनाउनका लागि काम गर्ने उल्लेख गरे। 

    मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे। आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो।
    कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारे। 

    उनले भने, 'म जहाजको ककपिटमा छु। एकैचोटि जहाज उडाउँदैनौं। सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ। जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन।'
    यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनको भनाइ छ। 

    हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ। उनले भने,'काम गर्ने वातावरण बनाउनका लागि सबैभन्दा पहिलो सरसफाइ हुने भएकोले विमानस्थलदेखि सबै क्षेत्र अब सफा राख्न निर्देशनसमेत दिन चाहन्छु।' 

    नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४० औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका हुन्। पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा. हर्क गुरूङ पर्यटन राज्यमन्त्री भएका थिए। 

    विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षाकुमारीको कोखबाट जन्मेका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) निर्वाचित भए।

    स्थानीय परिवेशमा घुलमिल हुने र जनताको सुखदुःखमा साथसाथै रहने कार्यशैलीले उनी जनतामाझ स्थापित छन्।

    पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीलाई कुशलतापूर्वक भूमिका निर्वाह गरेका उनी जनजाति सांसदमा बेग्लै लवजमा बोल्ने र जनतासँग घुलमिल भएर काम गर्ने स्वभाव छ। उनको यही अभ्यासले उनको राजनीतिक यात्रालाई ओझिलो बनाएको छ। 

    पर्यटनमन्त्रीका रूपमा मन्त्री किरातीलाई कोभिड–१९ को महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ।

    सरकारले पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशकको अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रूपरेखा सार्वजनिक गरिसकेको छ । 

    भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नु मन्त्री किरातीको मुख्य जिम्मेवारी हुनेछ।

    विसं २०६१ बाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताएका किरातीले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ युगमा लैजाने जिम्मेवारी पाएका छन्। रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार