विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैहुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।
एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री कार्कीले आज शुक्रबार नै विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गर्नुभएको छ । यसअघि नै प्रदेश १ मा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकिएको छ ।
उपसभामुखको मनोनयन आज
यसैबीच प्रदेश १ को उपसभामुख चयनका लागि शुक्रबार मनोनयन दर्ता गरिदैछ। प्रदेशसभाको बिहीबार बसेको तेश्रो बैठकले उपसभामुख चयनको प्रक्रिया अघि बढाएको हो।
प्रदेशसभा सचिवालयले प्रकाशन गरेको कार्यतालिका अनुसार शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ। उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुनेछ। बिहीबार बसेको प्रदेशसभा बैठकले सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेको थियो।