पर्वत । पर्वत फलेवास-३ शङ्करपोखरीका मीनप्रसाद भुसालको एक दशक लामो उर्जाशील समय विदेशी भूमिमा बित्यो । श्रमिकका रूपमा दश वर्ष विदेशी भूमिमा पसिना बगाइ कमाएको पैसा भने कहिल्यै चित्त बुझ्दो भएन ।
स्वदेशमा भने जस्तो जागिर नपाइने र वैदेशिक रोजगारी पनि छाड्न नसकिने अवस्थाका बीच उनी कहिले भारत त कहिले मलेसिया र साउदी अरबका विभिन्न कम्पनीमा बिताए । तर स्वदेशमै काम गर्ने कारक भने कोरोना महामारी बन्यो ।
विसं २०७६ सालमा विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीअघि बिदामा घर आएका उनी त्यसपछि साउदी अरब कामका लागि फर्कन पाएनन् । महामारी रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण समयमै साउदी अरब जाने अवस्था भएन । समयमै कम्पनीमा हाजिर हुन नपाउँदा जागिर गुम्यो भने यता आफ्नै बारीमा व्यावसायिक तरकारीखेतीको बाटो खुल्यो ।
‘कोरोना महामारीका कारण समयमै साउदीको कम्पनीमा जान नपाएपछि जागिर गयो’, उनले भने, ‘विकल्पमा मैले कृषि व्यवसाय रोजे, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।’ आफ्नै बारीमा व्यावसायिक कृषि सुरु गर्नुअघि उनले भारतमा दुई वर्ष, मलेसियामा चार वर्ष र साउदी अरबमा चार वर्ष बिताइसकेका थिए ।४० वर्ष पुगेका भुषालको पछिल्लो समय दैनिकी तरकारी उत्पादनमै बित्ने गरेको छ । हरेक साँझ र बिहान आफ्नै तरकारी बारीमा बित्ने गरेको उनले बताए ।
‘बिहान उठेदेखि बेलुका अबेरसम्मको मुख्य काम तरकारी उत्पादन, स्याहार तथा बिक्री गर्दैमा बित्छ’, उनले भने, ‘वैदेशिक रोजगारी छाडेर तरकारीखेतीमा लागेपछि सन्तुष्टि पनि मिलेको छ ।’ उनले हाल वार्षिक १२ टन तरकारी उत्पादन गर्दै आएका छन् । जसबाट मासिक ४० देखि ६० हजार रुपैयाँसम्म आम्दानी भइरहेको उनले सुनाए ।
‘उर्जाशील समय विदेशमै बित्यो, स्वदेशमै पनि पैसा कमाउन सकिन्छ भन्ने चेत अहिले पलायो’, उनले भने, ‘दुःख गर्नसके यहीको माटोमा सुन फलाउन सकिन्छ भन्ने अहिले थाहा भयो ।’
उनी कोरोनाका कारण वैदेशिक रोजगारी गुमेपछि स्थानीय आमा समूहको प्रेरणाकै कारण कृषि व्यवसायमा लागेका हुन् । पछिल्लो समय उनी कुश्मा नगरपालिका–९ साइकलचोकमा बेमौसमी तरकारी उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् ।
भुषालले यतिबेला तीन वटा प्लास्टिक टनेलमा गोलभेँडा, साग, मुला, सिमी, काउली फलाएका छन् । बेमौसमी तरकारी खेती गर्दा बजारको समस्या नहुने र राम्रो आम्दानी हुने भएकाले मुख्य गरी बेमौसमी तरकारी खेती गर्ने गरेको उनले सुनाए ।
उत्पादन भएको तरकारी अग्र्यानिक भएकाले पनि एकपटक किन्ने ग्राहकले फर्किएर आउने गरेको उनको अनुभव छ । सरकारबाट युवालाई कृषि व्यवासयमा आकर्षित गर्न ठोस कार्यक्रम नहुँदा हजारौं युवाहरु श्रमका लागि विदेशी भूमिमा जान बाध्य भएको उनको भनाइ छ ।
‘युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवालाई सहुलियतमा ऋण उपलब्ध गराउने भनिएको छ तर ऋण लिन धितो राख्नुपर्ने तथा झन्झटिलो प्रक्रियाका कारण व्यवसाय सुरु गर्न समस्या छ’, उनले भने, ‘सरकारले सस्तो ब्याजदरमा ऋण दिने हो भने हामी जस्ता व्यवसायीलाई सहज हुने थियो ।’
युवा वर्गमा व्यवसाय गर्न उत्साह भए पनि कर्जाका लागि धितो राख्नै पर्ने व्यवस्थाले समस्या हुने गरेको भुषालको निष्कर्ष छ । ‘व्यवसाय गर्न सहुलियत दरमा ऋण दिने हो भने धेरै युवालाई स्वदेशमै रोक्न सकिन्छ’, उनले भने, ‘यसका लागि प्रक्रिया सरल भयो भने युवाको बढ्दो विदेश पलायन रोक्न सकिन्छ ।’