२७ पुस, सुर्खेत । सत्ता समीकरणमा आएको बदलावसँगै कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जुरेको थियो नेकपा एमालेलाई । तर सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच भएको सहमति अनुसार एमालेकै समर्थनमा आगामी पाँच वर्ष कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भएको छ । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष माओवादीलाई सुम्पिने शीर्ष नेतृत्वको निर्णयप्रति एमाले प्रदेशका नेताहरु खुसी छैनन् ।
०५५ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री भइसकेका नेकपा एमालेका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने उद्देश्यसहित ०७४ मा प्रदेश झरेका थिए । पटक-पटक मुख्यमन्त्री बन्ने प्रयासबाट असफल भएका कँडेल गत मंसिर ४ को निर्वाचनमा पुनः प्रदेश सभामै चुनाव लडे । केन्द्रमा बदलिएको सत्ता समीकरणले उनी मुख्यमन्त्री बन्ने ढोका खुलेको पनि थियो । तर कर्णालीको भाग माओवादीलाई परेपछि कँडेल मुख्यमन्त्री बन्न पाएनन् । अनलाइनखबरसँगको कुराकानीको क्रममा उनले कर्णालीमा बनेका विगतका सरकारले उल्लेखनीय काम गर्न नसकेको र अहिले केन्द्रीय नेतृत्वले कर्णालीको मर्म नबुझेको टिप्पणी गरे ।
प्रस्तुत छ, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानी :
पछिल्लो सत्ता समीकरणबाट तपाईं मुख्यमन्त्री बन्ने ढोका खुलेको थियो तर प्रदेश भागबन्डा गर्दा माओवादीले पायो, तपाईंलाई यो गठबन्धन नफापेको जस्तो देखियो नि ?
म त्यसमा विश्वास नै गर्दिनँ । म आज कुनै पदलाई केन्द्र भागमा राखेर यो गठबन्धनमा सामेल भएको होइन । म अरुभन्दा भिन्न, अलि क्रिटिकल छु । म विषय आधारित बहस पार्टीभित्र र बाहिर गर्छु । त्यसकारण म यो फाप्ने र नफाप्नेमा विश्वास गर्दिनँ । कोही कसैले आएर तँ बेठीक भन्ने स्थिति देख्दिनँ । विगत पाँच वर्षमा केही गल्ती कमजोरी भए होलान् तर सबै कुरा नीति र विधि अनुसार नै गरेको छु । आम मान्छेको मनोविज्ञान के छ भने यामलाल कँडेलले एक पटक काम गर्न पाएको भए हुने थियो भन्ने छ । म विगतमा डेढ वर्ष वीरेन्द्रनगरको मेयर हुँदा जे काम गरेकोे थिएँ, त्यो काम मान्छेहरुले सम्झिरहेका छन् । तर केन्द्रीय नेतृत्वले कर्णालीको मर्म बुझ्न सकेन ।
यो स्थिति कसरी बन्यो ?
चुनाव भन्दा अगाडि एमालेलाई किनारामा पार्ने गरी सबै राजनीतिक पार्टीहरु लागेका थिए । त्यसमा सफल भएको भए, यो स्थिति आउने थिएन । तर ढाल्न, फाल्न, अस्वीकार गर्न नसकिने शक्तिका रुपमा एमाले स्थापित भयो । अहिले एमाले राजनीतिको केन्द्र भएको छ । एमाले सक्ने उद्देश्य विफल भएपछि यो स्थिति आयो ।
कर्णालीमा त कांग्रेस-माओवादीको गठबन्धन सफल भयो कि ?
पार्टीको मतका हिसाबले कर्णालीमा पनि एमाले पहिलो हो । सिट संख्या तलमाथि भयो । त्यो स्वाभाविक नै हो । कतिपय हाम्रा आन्तरिक कुराहरु मिलाउन सकेनौं । कतिपय ठाउँमा सही उम्मेद्वार पनि उठाउन सकेनौं । नत्र एमाले नै ठूलो पार्टी बन्थ्यो । तुलनात्मक रुपमा हिजोको गठबन्धन भन्दा यी दुइटै विचार, सिद्धान्त मिल्ने वामपन्थी पार्टीहरु हुन् ।
यद्यपि यहाँ पनि धेरैखाले मान्छेहरु छन् । तर हिजो विचार, सिद्धान्त, गन्तव्य, कार्यक्रम नमिल्नेहरु एक ठाउँमा उभिएका थिए । त्यो स्वार्थका कुरा थियो । अहिले राजावादीहरु, अरु-अरु पनि जोडिएका छन् । त्यसमा हामी सचेत छौं । नीतिमा कम्प्रोमाइज गरेको हैन, संख्यामा गरिएको हो । त्यसैले हिजोको भन्दा नेपालको राजनीति सही बाटोमा आएको छ ।
विगतमा २० सिट जितेको एमालेले १३ सिट जितेको माओवादीलाई सघाएको थियो । पछि सत्ता संघर्षमै पाँच वर्ष बित्यो । फेरि पनि त्यस्तै नहोला भन्ने के ग्यारेन्टी छ ?
निर्वाचनको परिणाम नै यस्तो आइपर्यो । त्यसलाई स्वीकार्नुपर्छ । अहिले कसले सरकार बनाउने भन्दा पनि गठजोड बचाइराख्ने कुरा प्राथमिकताको विषय बनेको छ । कर्णालीमा पो दुईओटा पार्टी मिले सरकार बन्छ, अन्य प्रदेशमा त दुईटा पार्टी मिल्दा पनि सरकार बन्न सक्ने स्थिति छैन । अहिले गठजोडलाई कायम राखेर राम्रो काम गर्नुपर्ने चुनौती छ । राम्रो काम गर्दै गए गठबन्धन टिक्छ । काम राम्रो गर्नुभएन, गठबन्धन मात्रै टिकाउनु भयो भने आलोच्य बन्छ । त्यसो हुँदा गठबन्धनमाथि पनि प्रश्न उठ्छ । गठबन्धनलाई कायम राख्न पनि राम्रो काम गर्नुको विकल्प म देख्दिनँ ।
कर्णाली प्रदेश सरकारको नेतृत्व नपाउँदा एमालेका केही नेताहरु असन्तुष्ट छन् भनिन्छ । पछि कांग्रेससँग मिलेर एमालेले सरकार बनाउने सम्भावना छ कि छैन ?
पार्टी भित्र हाम्रा आफ्नै संरचना छन् । आफ्ना कुरा पार्टी भित्र राखिन्छ । ती पार्टी भित्र राखेको कुरा कहिलेकाहिँ बाहिरिन्छन् र तपाईंहरुले समेत थाहा पाउनुहुन्छ । तर पार्टीले गरेको निर्णयप्रति चित्त नबुझे त्यहीँ भित्र छलफल र बहस हुन्छ । बाहिर अर्कोसँग गठबन्धन गर्ने कुरा हुँदैन । पार्टी भित्र त हिजो नेकपा हुँदा पनि विद्रोह गरिएकै हो । छुटै मोर्चासँग गरिएको हैन नि । त्यतिबेला प्रचण्डले, माधव, ओली सबैले आ-आफ्ना मान्छे बचाउन लागे । तर ठिक र बेठिकका आधारमा छलफल चलाउनु पर्छ । त्यसो गरिएन भने ऊ त डुब्यो-डुब्यो । पार्टी डुबाउने, कर्णाली डुबाउने कुरामा कसरी समर्थन गर्न सकिन्छ ? त्यो कुरा पार्टी भित्रै गरिन्छ । हिजो गरेको पनि त्यही हो । जो कोहीले राम्रो काम गरे साथ दिन्छौं ।
त्यसो भए यो गठबन्धनभित्र गडबड हुँदैन ?
काम कस्तो हुन्छ, त्यसका आधारमा कुरा उठ्छ । यो कुरा चाहिँ क्लियर हो ।
तपाईंहरू सदनमा भाषण गर्दा कर्णालीको प्रतिपक्ष यहाँको रोग, भोग, अभाव र गरिबी हो भन्नु हुन्छ तर व्यवहारत सत्ताको लुछाचुडीमै अल्झेको देखियो नि ?
यसमा संसदको बनावट, पार्टीहरुको भूमिका जिम्मेवारी अनुसार पृथक हुन्छ भन्न्ो कुरा बुझिदिनुभयो भने हामी सही निष्कर्षमा पुग्छौं । तर हाम्रो समाजमा सबै एउटै पोजिसनमा, सांसद भएपछि सबै सरकार, सबै जिम्मेवार भन्ने आम बुझाइ छ । त्यसलाई चिर्न सकिरहेका छैनौं । कर्णालीको अवस्थाका बारेमा हिजो र आज हाम्रो समान धारणा छ । तर विगतको पाँच वर्षमा बहुसांखिक सूचकांकमा कुनै पनि परिवर्तन गर्न सकेनौ । अवस्था जस्ताको त्यस्तै छ ।
यसको जिम्मेवार को ?
जो जिम्मेवारीमा रहनु भएको छ उहाँ बढी जवाफदेही र जिम्मेवार हुनुहुन्छ । यो पाँच वर्षको निम्ती सरकारको नेतृत्व जसले गर्यो, उसैले जिम्मा लिनुपर्यो । विगत पाँच वर्षमा म सांसद र सहयोगीका रुपमा थिएँ, तर मूल जिम्मेवार भूमिकामा थिइनँ । उहाँहरुले अवस्थालाई सत्ता प्राप्तीको माध्यम मात्रै बनाउनु भयो तर अवस्था बदल्ने कुनै दृष्टिकोण, दृढता र इच्छाशक्ति देखाउन सक्नुभएन । त्यसकारण हाम्रो अवस्था जस्ताको त्यस्तै रह्यो । जबसम्म हामी अवस्था बदल्न सक्दैनौं तबसम्म त्यो कुरा दोहोरिरहन्छ ।
एमालेले सरकारको नेतृत्व नपाउँदा परिणाममुखी काम हुन सकेन भन्न खोज्नु भएको हो ?
अहिलेसम्म सरकारको नेतृत्व गर्ने दुईवटा पार्टी (नेपाली कांग्रेस र माओवादी केन्द्र)को परीक्षण भयो । एमालेले पाउँदा गर्न सक्थ्यो या सक्दैनथ्यो त्यो परीक्षण हुन बाँकी नै छ । तर मलाई के विश्वास हो भने, योभन्दा राम्रो काम गर्न सकिन्छ, गर्न सकिन्थ्यो । उहाँहरु पदमा त पुग्नुभयो तर जिम्मेवारी मुक्त भइसकेपछि सम्झनलायक काम केही भएजस्तो देखिंदैन । यद्यपि उहाँहरुले कसरी आत्मसमीक्षा गर्नुभएको छ, त्यो आफ्नो ठाउँमा छ ।
सत्ता प्राप्तीको खेलमा सबैभन्दा बढी तपाईं नै लागिपर्नु भएको थियो । आफ्नै पार्टीको सरकार विरुद्ध पटक-पटक अविश्वासको प्रस्ताव ल्याउनु भएको थियो ।
दुई वर्षको तत्कालिन नेकपाको सरकार हेरेपछि आन्तरिक पार्टी भित्र रहेको व्यवस्थाको अभ्यास गरें मैले । वैधानिक व्यवस्था अनुसारको अभ्यास हो त्यो । कुनै संसदभित्र अभ्यास गरेको हैन । त्यसमा म मात्रै थिइनँ, हामी बहुसांखिक माननीयहरु त्यहाँ थियौं । पार्टी भित्र पक्षधरता थियो । माधव नेपाल, केपी ओली र प्रचण्डका मान्छेहरु थिए । सबै अनुहार देखिने गरी ७ जना मन्त्री बाहेक सबै पार्लियामेन्ट एकातिर थियो । तर सुधार गर्न त सकिएन । कतिपय त मर्यादाको उल्लंघन गरेर पनि सभामा पुगे । तर ती विषयलाई मान्छेहरुले सौदाबाजीको रुपमा परिणत गरे ।
विगतको गल्ती दोहोर्याए संविधान नै संकटमा पर्ने चिन्ता व्यक्त गरिरहँदा अब दल र नेताहरू कहाँनेर सच्चिन आवश्यक छ ?
सबैले सिक्नैपर्छ भन्ने छैन, जसले सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउँछ उसले पहिला सिक्नु पर्छ । नेतृत्वकर्ताले सबैलाई मिलाएर, सहकार्य गरेर, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न जरुरी छ । अहिले त सबै सरकारमा आए । मैले तिनीहरुलाई खहरे भन्ने गरेको छु । राप्रपा र स्वतन्त्र पार्टी सरकारमा नआएर अलग बसेको भए हुने नि । कहिलेकाहीँ अर्काको कारणले पनि सुधार शुरु हुन्छ । आज सिद्धान्त त हैन, व्यवहार त एमाले, माओवादी, कांग्रेस, यथास्थितिवादी, भ्रष्टाचारी, सत्ताधारी, क्रान्तिकारीको फलाना फलाना….मैले सबैको नाम लिइनँ । हिजो लोकतन्त्रका लागि लडेकाहरु आज डिमोरलाइज भएका छन् । कसका कारणले भन्दा अरुलाई दोष नदिउँ, आफ्नै कारणले ।
पहिले पनि गठबन्धन थियो । अहिले पनि गठबन्धन छ । हामीसँग निष्ठाको, त्यागको राम्रो कामको प्रतिस्पर्धा चल्नु पर्ने थियो । तर सत्ता प्राप्तिको लागि हामीले जे पनि गर्यौं । त्यसैले मान्छेहरुमा सरकारप्रति वितृष्णा बढेको छ । अझ कर्णालीको आँखाबाट हेर्ने हो भने चित्त बुझाउने ठाउँ म देख्दिनँ । पहिले पहिले हामीले माथिकालाई दोष दिन्थ्यौं, अब माथिकालाई दोष दिने ठाउँ पनि छैन । यो क्षेत्रको विकासका लागि हामीबीच एकता बाहेकको विकल्प छैन । पार्टीबीच मात्रै हैन, कर्णालीवासीबीच पनि एकता आवश्यक छ ।