आइतबार, मंसिर ९ गते २०८१

सात महिनादेखि अन्धकारमा मामांखे गाउँ

सात महिनादेखि अन्धकारमा मामांखे गाउँ

अखबार दैनिक
बुधबार, पुस ६ २०७९
  • सात महिनादेखि अन्धकारमा मामांखे गाउँ

    फुङलिङ । साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरू पनि विगतका दिन पक्कै सम्झिनुहुन्छ होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराउला । अहिले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मामांखे गाउँमा पुग्नुभयो भने यहाँले विगत सम्झिन सक्नुहुनेछ ।

    images

    गत साता मात्र मामांखेका मन कुमारी लिम्बू साँझमा एउटा टुकी बालेर पारिकाका लागि खाना पकाउँदै हुनुहुन्थ्यो । घरभित्रको टुकीले आधा भाग पनि उज्यालो प्रकाश दिन सकेको थिएन । टुकीको वरिपरि मात्र केही उज्यालो थियो । सँगसँगै बसेका परिवारलाई अँध्यारोमा चिन्न पनि मुस्किल हुन्थ्यो । आँखाले देख्न नसके पनि आवाजबाट भने पहिल्याउन सकिन्थ्यो ।

    घरभित्रको टुकीले केही उज्यालो प्रकाश दिए पनि घरबाहिर भने अँध्यारो नै थियो । केही छिमेकीको घर छेउमा बालेको आगो ताप्दै छिमेकीहरू विगतका आफ्ना कथा एक–अर्कालाई सुनाउन व्यस्त हुन्थ्यो । आकाशमा ताराहरू चम्किरहेकाले थोरै भए पनि उज्यालो दिएको थियो ।

    मामांखे गाउँको यो दृश्य प्रतिनिधिमूलक  घटना मात्र हो । सिरिजङ्गा गाउँपालिका–५ पेदाङ र ६ मामांखे गाउँमा पाँच सय घर परिवारको व्यथा अहिले पनि उस्तै छ । गत असार ३ गते अविरल वर्षाका कारण पहिराले लघु जलविद्युत गृह बगाएसँगै पाँच सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएको खाकसेवा खोला लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताउनुभयो । सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरुपमा विस्थापित हुन पुगेको थियो । अहिले उनीहरूलाई जिल्ला प्रशासनमार्फत पुनः स्थापित गराउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    गत असार ३ गते पहिराले विद्युत गृह बगाएसँगै अहिलेसम्म विद्युत जडान नहुँदा ढुङ्गेयुग जस्तै अन्धकारमा बस्नुपर्ने बाध्य हुनु परेको वडा नं ६ का हर्कबहादुर लिम्बूले बताउनुभयो । गाउँमा आपत् बिपत पर्दा र मानिस  बिरामी पर्दा बिजुली बत्तीको अभावले  बढी समस्या हुने गरेको उहाँको भनाइ थियो । मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तहरूसँग कुराकानी  गर्नसमेत समस्या हुँदै आएको मामांखेका सुने लिम्बूले बताउनुभयो । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न पुगेको स्थानीयवासीको गुनासो थियो  ।

    विद्युत गृह राख्ने ठाउँ नै नरहने गरी बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युत गृह निर्माण गर्न  समस्या भएको खाकसेक्वा खोला लघु जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्वेक्षण गरायौँ  तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाल्यो । गाउँपालिकाले उपलब्ध गराएको बजेट पनि नपुग्ने भएपछि त्यतिकै छोड्यौँ । अन्य ठाउँबाट विद्युत निकालौँ भने खोला छैन ।”

    पहिराले बगाएको विद्युत् गृह पुनर्निर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत लाइन जोड्ने पेदाङवासीको  योजना रहेको  खाकसेक्वा खोला लघु जलविद्युत पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताउनुभयो । “खोलाले बगाएको स्थानमा पुनर्निर्माण गर्न ठूलो खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ  जोड्न लागिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि लागि पोलहरू गाड्ने, तार तान्ने काम हुन आँटेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।” पहिराले बगाएको विद्युत गृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ