असोज १३ काठमाडौं । बर्मझियाको पेँडा जस्तो भृकुटिमण्डपको जुत्ता मेला, आफ्नो सक्कली देखाउने प्रतिस्पर्धा राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अबसरमा मेला गरेको भनिए पनि यस्तो मेला नयाँ बर्ष लागेपछि साउनको एक महिनाबाहेक अविछिन्न रुपमा चलिरहेका छन् ।
मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । मेलाले सर्बसाधारण उपभोक्ता भने फाइदामा छन् । मेलाले जुत्ताचप्पलको च्यानल ब्रेक भएको छ । जुत्ताचप्पल उत्पादक र विक्रेताबीचकाले खाने कमिसन नलाग्दा उत्पादकले सिधै उपभोक्तालाई बेच्न पाएका छन् । त्यसले गर्दा उपभोक्ताले मेलामा विभिन्न ब्राण्डका छानीछानी सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् । केही जुत्ताचप्पल उत्पादकले मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्दै आएका छन् । उनीहरु दुई महिना जुत्ता उत्पादन गर्छन् । अनि एक महिना मेलामा बस्छन् । जुत्ता मेला हुने स्थल भनेर भृकुटीमण्डपको सानो चौरको बाण्डिङ नै भइसकेको छ । थोरै नाफा हुँदा पनि उद्योगीहरु फाइदामा छन् । घाटा चाहिँ के भयो भने मेलामा बिकिहाल्छ भनेर जस्तो पनि जुत्ता चप्पल बनाउने उद्योगीहरु थपिएका छन् ।
शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । संघका तत्कालीन अध्यक्ष रविन श्रेष्ठले त्यसको नेतृत्व गरेका थिए । केही जुत्ता उत्पादकहरु बजारमा बेच्नेभन्दा मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्थे ।
त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग तेस्रो उद्योग मिलेर मेलामा सहभागिता जनाउन थाले । यसरी सदाबहार मेला हुन थालेपछि मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो ।
सबैले नलगाउने भए ठिकै छ भनेर मेलामा सहभागिता जनाउनेहरुले पनि मेला गर्न छाडे । विशेष गरी शिखर सुजले सानो चौरमा एकल मेला गर्दै आएको थियो । गत बर्ष शिखर सुजले मेला गर्ने भनेर सानो चौर बुक गरेको थियो । मेला विरोधीहरुले उक्त मेला रोक्नै लगाएका थिए । नेपाली जुत्ताघरमा शिखरसँग जोडिएका विएफ डियरहिल, कोसेलीलगायतका ब्राण्डका जुत्ता उत्पादकहरु आफूहरुलाई मेलामा छुटाएको भनेर शिखरको मेला विरुद्ध उत्रिए । विरोधको नेतृत्व तत्कालीन अध्यक्ष होमनाथ दाहाल, रविन श्रेष्ठ, ज्ञानेन्द्र दाहाललगायतले गरेका थिए ।
केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । अहिले भृकुटी मण्डपको दुवै चौरमा दशैं लक्षित जुत्ताचप्पल मेला चलिरहेका छन् । भृकुटीमण्डप प्रवेशद्वारमै अहिले शिखर सुजको नेतृत्वमा प्राइड स्वदेशी, हाइलाइफ, वन वल्र्ड, फुट स्टेप, बोस, बेम्बो, एसलगायतका ब्राण्डको प्रदर्शनी छ । सानो चौरको मेलालाई बिकृति भन्छन् ठूलो चौरमा मेला गर्नेहरु । ठूलो चौरमा मेला गर्र्नेहरु चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । ठूलो चौरमा रन, विएफ डियर हिल, फस्र्टवाकलगायतका कम्पनीका जुत्ताचप्पल प्रदर्शनीमा छन् । ठूलो चौरमा मेला लगाउनेहरुले कोभिडको असर सकिनासाथ सेल मेला गरे । संघको पूर्व अध्यक्षसमेत रहेका शिखर सुजका रामकृष्ण प्रसाईँलाई भाडामा लिएको सानो चौर चार दिनअघि नै छाड्न बाद्य बनाएर ठूलो चौरमा मेला गरे । त्यसपछि उनीहरुले बैशाखमा मेला गरे । त्यसपछि सानो चौरमा ६,७ वटा कम्पनीले डेढ महिनाजति मेला गरे ।
साउन १ महिना भृकुटीमण्डपको चौरले जुत्ता मेलाबाट बिश्राम पायो । उनीहरुले दशैं अघि एउटा समुहले भृटुटीमण्डपको सानो चौरमा मेला लगाउने घोषण गरेका थिए । त्यही अबसर पारेर संघका अध्यक्षलगायतका पदाधिकारीले ठूलो चौरमा भदौ १ गतेबाटै मेला सुरु गरे । भृकुटीमण्डको ठूलो चौर २० गतेपछि फर्निचर एक्स्पोलगायतले बुक गरेका थिए । त्यही बुकिंगमा पनि संघका पदाधिकारीले अनुनय विनय गरेर आफ्नो स्टलहरु राखे । समाज कल्याण परिषदले फर्निचर एक्स्पोका आयोजकलाई किन अरुलाई ठूलो चौरको स्पेस अरुलाई नाफा खाएर बेचेको भनेर पत्र काट्यो । त्यसपछि संघका पदाधिकारीहरुले आफ्नो स्टल छोपेर बसे । तैपनि उनीहरुले ठूलो चौर छाडेनन् । उनीहरु जसले स्पेस बुक गरे पनि आफ्नो लागि ठाउँ दिन अनुरोध गर्छन् र जुत्ताचप्पलको स्टल राखिहाल्छन् । अहिले त झन् ठूलो चौर पूरै ओगटेर संघ पक्षीय जुत्ता उत्पादकहरुले मेला गरिरहेका छन् । सानो चौँरमा मेला लगाउनेहरु ठूलो चौरकै किनबेच भएको बताउँछन् ।
सानो चौरमा मेला लगाउँदा विकृति भएको भन्नेहरुले त्यसकै १० मिटर पर संघका अध्यक्षलगायतका पदाधिकारीहरु आफैंले मेला लगाउनुमा नैतिक दम नभएको सानो चौरमा मेला लगाउनेहरु बताउँछन् । कि दुवै मेला गलत हुन् भन्नु पर्यो,ु उनी भन्छन्, कि मेला गरेर उपभोक्तालाई फाइदा दिएका छौं भन्नु पर्यो ।
मेलामा प्रतिस्पर्धाले जुत्ताचप्पल उत्पादकहरु एक अर्कालाई खुइल्याउन थाले । उसले त चाइनामा बनाएर ल्याउँछ र मेलामा राखेर नेपाली उत्पादन भनेर बेचिरहेको छ भनेर एक अर्कालाई आरोप लगाउँन थाले । यसले गर्दा नेपाली ब्राण्डमा आएका जुत्ताचप्पलप्रति पनि सर्बसाधारणले शंका गर्न थाले । यसले नेपाली उद्योग नै संकटमा पर्न थाले । यस्तो प्रश्न आफूले धेरै पटक सामना गर्नु परेको एक जुत्ताचप्पल उत्पादक बताउँछन् ।
अहिले नेपालमा १८ करोडदेखि २० करोड जोर जुत्ताउत्पादन गर्न सक्ने पूर्वाधार रहेको जुत्ताचप्पल उत्पादकको दावी छ । नेपाली जुत्ताचप्पलले ६० प्रतिसत बजार धान्ने उत्पादकहरुको दावी छ । एक अनुमान अनुसार हरेक ब्यक्तिले नेपालीले हरेक बर्ष ४ जोर जुत्ताचप्पल लगाउँछन् । यस हिसावले हरेक बर्ष ११ करोड जोरजति नेपालीले जुत्ताचप्पल खपत गर्छन् । हरेक बर्ष औपचारिक अनौपचारिक माध्यमबाट दुईदेखि अढाइ करोड जोरसम्म जुत्ताचप्पल विदेश निर्यात हुन्छ । नेपाली जुत्ताचप्पल विदेशीको तुलनामा गुणस्तरीय रहेको उत्पादकको दावी छ । उत्पादकहरुले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी नै दिने गरेका छन् ।
राज्यले समेत जुत्ताचप्पल उद्योगीलाई संरक्षण गरेको छ । जुत्ताचप्पल उत्पादकहरु आफैं जुधेर उद्योग धरासायी बनाउँदैछन्, एक उत्पादक भन्छन्, राज्यले हाम्रो लागि दाहिना छ । गर्न नसकेको हामीले नै हो । धेरैको वर्किंङ क्यापिटल कोभिडले सकियो । बैंकहरुले लगानी गरेका छैनन् ।
जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक सँघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् ।हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ एक उत्पादकले भने । कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने कुरा उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । यसमा जुत्ता उत्पादक सँघ आफैं लबिंग गरेर हिड्ने हैन । संघले प्रदर्शनी गर्ने हो, बायर, सेलरलाई बोलाउने हो । सेल मेला संघ आफैंले गर्ने होइन् । ती १० जना संघको नाममा सेल मेलामा किन बस्नु ? आफ्नै ब्राण्ड राखेर बसे भै गयो नि । कोभिड सकिएको एक बर्षमा ५ वटाभन्दा बढी मेला संघकै नाममा भइसकेका छन् । संघले विधानमै २ वटाभन्दा बढी सेल मेला नगर्ने भनेको छ । मेलामा प्रतिस्पर्धा हुँदा सर्वसाधारण उपभोक्ताले भने सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् ।