, पोखरा
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको नवौं नगरसभामा बिहिबार महानगर पालिकाकी उपप्रमूख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षाको लागि बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ रु २ अर्ब ९० करोड ९४ लाख र पुँजीगत खर्च रु.३ अर्ब ३६ करोड ८० लाख रकम बिनियोजन गरिएको छ । कुल बजेटमा चालुतर्फ ४६ दशमलव ४ प्रतिशत र पुँजीगत खर्चतर्फ ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ ।
महानगरले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयबाट २ अर्ब २२ करोड, संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजारको अनुमानित आयसहितको बजेट प्रस्तुत गरेको हो । १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून हुने देखिएकाले त्यसको पूर्ति गर्न गत आर्थिक वर्षमा सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने बताईएको छ ।
महानगरले आगामी आर्थिक वर्षको लागि करको दायरा विस्तार गर्ने तर प्राविधिक विषयहरु बाहेक करका दरहरु वृद्धि नगर्ने नीति लिएको छ ।