१८ फागुन, काठमाडौं । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । यद्यपि आगमन वृद्धिदर भने न्यून छ ।
अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरीमा आगमन सामान्य सुधार आएको छ ।
नेपालले हवाईमार्गबाट आउने सबै भारतीयलाई पर्यटक मान्छ । तर, स्थलमार्गबाट आउने भारतीय भने पर्यटकमा गणना हुँदैनन् । दुई महिनामा भारतबाट मात्र ८७९१ जना पर्यटक नेपाल आएका छन् ।
यो संख्या सन् २०२० को यसै अवधिको तुलनामा भने निकै कम हो । सन् २०२० को फेब्रुअरी महिनामा मात्र नेपालले भारतबाट १४ हजार ८ सय ४० पर्यटकलाई स्वागत गरेको थियो ।
दुई महिनामा चीनबाट २ हजार ५८५ जना पर्यटक नेपाल आएका छन् । चीनबाट जनवरीको तुलनामा फेब्रुअरीमा आगमन घटेको तथ्यांकमा देखिएको छ । फेब्रुअरीमा चीनबाट मात्र ७ सय ८ जना पर्यटक नेपाल आएका छन् ।
तथ्यांकअनुसार पछिल्ला दिनमा अमेरिकी पर्यटकको आगमनमा भने उल्लेख्य वृद्धि भएको छ । जनवरीमा ८७४ जना अमेरिकी नेपाल आएकोमा फेब्रुअरीमा ११२० अमेरिकी पर्यटक नेपाल आए । दुई महिनाको अवधिमा अमेरिकाबाट १९९४ जना पर्यटक नेपालको भ्रमणमा आएका छन् ।
युरोपका सबै मुलुकबाट फेब्रुअरीमा ११४२ जना पर्यटक नेपाल आएका छन् । यूरोपको बेलायतबाट यो महिनामा ५२४ जना नेपाल आएका छन् । जनवरीमा बेलायतबाट १३६ जना पर्यटक नेपाल आएका थिए ।
हवाई यात्रु सामान्य वृद्धि
जनवरीको तुलनामा फेब्रुअरी महिनामा हवाई यात्रुको संख्यामा समेत सामान्य वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार यो महिनामा कुल ५७ हजार ५ सय ५९ यात्रु नेपाल भित्रिएका छन् ।
नेपालबाट ४४ हजार १ सय ५२ यात्रु त्रिभुवन विमानस्थल हुँदै बाहिरिएका जनवरीमा ५६ हजार १ सय ४१ यात्रु भित्रिएका थिए । ४७ हजार २ सय ३८ यात्रु बाहिरिएको अध्यागमनको तथ्यांक छ । यद्यपि यो संख्या कोरोना महामारीभन्दा अगाडिको तुलनामा भने आधा भन्दा कम हो ।