पौष १५, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३२ औं वार्षिक साधारण सभा मिति २०७७/१०/१५ का दिन कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सो साधारण सभामा अध्यक्ष श्रीमती सिंहले आ.व. २०७५/०७६ मा कम्पनीको सबै वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको बताउनु हुंदै कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु. ८०५.०५ करोड पुगेको र रु.३५ करोड खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराउनु भयो । यसै गरी आ.व. २०७५/०७६ को अन्त सम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई रु.२,६८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्त सम्ममा रु. २६ अरब ९२ करोड पुगेको जानकारी गराउनु भयो । कम्पनीले सो आ.व.मा रु.२६९ करोड कूल दावी भुक्तानी गरेको छ ।
सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कूल चुक्ता पूँजी रु.३ अरब ३९ करोड नाघेको जानकारी गराउनु भयो । कम्पनीको आ.व.२०७५÷०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गर्नु भयो । आ.व.२०७५÷०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले ब्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिएको सभामा अवगत गराउनु भयो । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा उल्लेख गर्नु भयो ।
लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसवाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले वताउनु भयो । ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पु¥याएको अवगत गराउनु भयो ।
३२ औं वार्षिक साधारण सभाले आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर जारी गर्ने र वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.१,६२,२४,३५१/– नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।