दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म सिनेमा हलमा प्रदर्शन भएको लामो समयपछि यूट्युबमा सार्वजनिक हुने गरेका छन् । ‘छक्का पञ्जा’ सिरिज हलमा रिलिजको २ वर्षको अन्तरालमा यूट्युबमा आएका थिए । दीपेन्द्र लामा निर्देशित सुपरहिट फिल्म ‘छ माया छपक्कै’ भने सिनेमा हलमा रिलिज भएको डेढ वर्षमै यूट्युबमा सार्वजनिक भएको छ ।
यो फिल्म पाइरेसीको शिकार हुन थालेपछि बुधवार यूट्युबमा सार्वजनिक गरिएको हो । केदार घिमिरे ‘माग्ने बुढा’ को यूट्युब च्यानल आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको फिल्मले घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो । रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा दीपक-दीपाको समुहले मुनाफाको ६० प्रतिशत लिने सर्तमा काम गरेका थिए ।
यूट्युब रिलिजको ६ घण्टामा २८ हजार भ्यूज पाएको फिल्मलाई १५ सय लाइक्स र डेढ सय बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्स निहाल्ने हो भने फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मले उठाएको विषयवस्तु अहिलेको राजनीतिक अवस्थासँग मिल्दोजुल्दो रहेको दर्शक प्रतिक्रिया छ । त्यस्तै, केदार घिमिरे र केकी अधिकारीको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको छ ।
हरी हुमागाईंले खिचेको फिल्ममा राजनीतिक द्वन्द्वको बीचमा पलाएको प्रेम र प्रेमले राजनीतिमा पारेको प्रभावलाई देखाइएकोे छ । राजनीतिक पृष्ठभूमिसँग जोडेर प्रेम र हास्य रस पस्किएको फिल्ममा दीपकराज गिरी, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शरदा गिरी, विष्णु सापकोटा, अनुराग कुँवर, स्व. दीपक क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।