उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पोल खोल्नुभएको छ ।
मन्त्री भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताउनुभएको हो । प्रचण्ड पक्षकै नेता मानिएको उहाँले बालुवाटारमा आज ओली पक्षले बोलाएको सांसद भेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबीसमेत गर्नुभयो । तर सरकारलाई कामै गर्न नदिने र सधैं अनिर्णयको बन्दी गराउने षडयन्त्र भएको पनि उहाँको तर्क छ ।