बुधबार, मंसिर २ गते २०८३

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

अखबार दैनिक
मंगलबार, मंसिर १ २०८३
  • तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

    सिन्धुपाल्चोक, १ मङ्सिरः नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उक्त सिमाना चीनसँगको सबैभन्दा छोटो दूरीको नाका हो ।    
        
    तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले नाका चाँडो खुलाउन सरकारसँग माग गरेका छन् ।    
        
    लामो समयसम्म नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्ग सञ्चालनमा नआउँदा व्यवसायीहरू पेसाबाटै पलायन हुनुपरेको उहाँहरूको भनाइ छ ।    
        
    विसं २०७२ सालको भूकम्पयता पटकपटक बन्द हुँदै आएको तातोपानी नाका नियमित सञ्चालनमा चीनले चासो नदेखाएको भन्दै सिन्धुपाल्चोकका व्यापारी तथा जनप्रतिनिधिले सरकारले बेइजिङसँग स्पष्ट जवाफ माग्न ढिला गर्न नहुने राय व्यक्त गरेका छन् ।    
        
    “व्यापारी र व्यवसायीले आशा मारिसकेका छन् । उनीहरू पूर्ण रूपमा निराश भइसकेका छन्”, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले भन्नुभयो, “अब सरकारले नाका खोल्न उच्चस्तरीय पहलकदमी नलिने हो भो व्यवसायीले यो नाकाबाट व्यवसाय गर्न सक्ने छैनन् ।”    
        
    कार्यक्रममा व्यवसायी, स्थानीय तहका प्रतिनिधि र स्थानीयबीच नाका अवरुद्ध हुनुका कारण, व्यापारीले भोग्नुपरेको सास्ती र आगामी कार्यदिशाबारे बहस भएको थियो ।    
        
    तातोपानी नाकाका लागि लोड गरिएको सामान नाकामा आइपुग्ने बेलामा एक्कासी बन्द हुने गरेको नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो ।    
        
    बाध्य भएर केरुङतर्फ सामान पठाउँदा त्यहाँ पनि अर्कै समस्या आउने र पुनः अन्तै मोड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।    
        
    त्यस्तै नेपाल ट्रान्स–हिमालयन सीमा व्यापार सङ्घका प्रतिनिधि रामचन्द्र पौडासैनीले चीनसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिनुभयो । आवश्यक परे सरकारी प्रतिनिधिमण्डल नै चीन पठाउनुपर्ने उहाँको सुझाव छ । 

    “प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा चीनस्थित नेपाली राजदूतमार्फत जसरी भए पनि यो नाका खुलाउन कूटनीतिक पहल गर्नुपर्छ । आवश्यक परे वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “यो नाकाको महत्वबारे हामीले चिनियाँ सरकारलाई बुझाउन सकेका छैनौँ । यो नाकाबाट कुनै सुरक्षा खतरा छैन भन्ने विश्वास पनि चीनलाई दिलाउनुपर्छ ।”    
        
    भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको तातोपानी नाका बन्दप्रायः हुँदा व्यापार–व्यवसाय चौपट भएको उहाँले बताउनुभयो ।    
        
    “नाका नखुल्दा हामी व्यापारीलाई कति मर्का परिरहेको छ भन्ने कुरा सबैले बुझेकै विषय हो, तर पनि समाधानमा ख्याल गरेको देखिदैन”, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले भन्नुभयो, “नाकाको अनिश्चितताले व्यवसायी मारमा पर्नुका साथै राष्ट्रिय स्तरमै सामग्री आपूर्तिमा असर पर्ने पर्ने निश्चित छ ।” उहाँले नाका क्षेत्रमा पर्ने पहिरो रोकथाम, बाटोको स्तरोन्नति र जिटुजीमार्फत वार्ता गर्न आह्वान गर्नुभयो ।    
        
    व्यवसायीले सरकारको कूटनीतिक र प्रशासनिक उदासीनताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । तातोपानी नाका नखोल्ने हो भने यसको विकल्प व्यवसायीले खोज्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।    
        
    “अन्तरराष्ट्रिय महत्वको नाका सञ्चालनमा ल्याउन नेपाल सरकार किन मौन छ हामीले बुझ्न सकेका छैनौँ”, सीमावर्ती वडा भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले भन्नुभयो, “हामीले नाका सञ्चालनको लागि पटक पटक सरकार र मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै आएका छौँ । चिनियाँ अधिकारीहरुसँग पनि छलफल गरिरहेका छौँ । उहाँहरुले तपाईको सरकारले नै वास्ता गरेको छैन भन्नुहुन्छ ।”    
        
    कार्यक्रममा सांसद भरतप्रसाद पराजुलीले सरोकारवालाको आवाज बोकेर सरकारसमक्ष प्रतिनिधित्व गर्ने आफ्नो जिम्मेवारीअनुसार कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।    
        
    बजारमा चलेका हल्लाको पछि नलाग्न आग्रह गर्दै पराजुलीले आफूले तातोपानीको नाका र लिपिङमा गएर पारिपट्टीका चिनियाँ संरचना प्रत्यक्ष देखेको बताउनुभयो ।    
        
    “चीन सरकारले भूकम्पले क्षतविक्षत भएको खासालाई अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट सिटी’का रूपमा विश्वसामु परिचित गराउन संरचनाहरू बनाइरहेको छ”, उहाँले भन्नुभयो । रासस   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार