काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
मंगलबार सम्पन्न उम्मेदवारी दर्तामा बागमती प्रदेशका दुई पूर्वमुख्यमन्त्रीसहित पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यहरू केन्द्रीय नेतृत्वका विभिन्न पदका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले आदिवासी जनजाति क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। यसअघि केन्द्रीय सदस्य तथा विशेष महाधिवेशनबाट सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका लामाले केन्द्रीय राजनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।
त्यस्तै, कांग्रेस बागमती प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। जिल्ला सभापति, प्रदेश सभापति र मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका बानियाँ केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने तयारीमा छन्।
खुला केन्द्रीय सदस्य पदमा बागमतीका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशी र पूर्वयुवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पनि उम्मेदवारी दिएका छन्। जोशीले प्रदेशको स्वास्थ्य मन्त्रालय तथा महर्जनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए।
दलित महिला सदस्यतर्फ प्रदेशसभा सदस्य सुना परियारले उम्मेदवारी दिएकी छन्। आदिवासी जनजाति क्लस्टरतर्फ पूर्वखानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा र पूर्वउद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उम्मेदवारी दर्ता गराएका छन्।
खुला महिला क्लस्टरतर्फ यमुना देवी श्रेष्ठ र समिता खड्गी श्रेष्ठले उम्मेदवारी दिएका छन्। यस्तै, बागमती प्रदेश भूगोलअन्तर्गत महिला क्लस्टरतर्फ काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर तथा पूर्वसामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले उम्मेदवारी दिएकी छन्।
बागमती प्रदेश भूगोलको खुला क्लस्टरतर्फ पूर्वसहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पनि उम्मेदवारी दिएका छन्।
बागमतीबाट एकैपटक पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेशका प्रभावशाली नेताहरू केन्द्रीय नेतृत्वको दौडमा उत्रिएसँगै कांग्रेस महाधिवेशनमा प्रदेशको प्रतिनिधित्व र समीकरणलाई चासोका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस