शनिबार, जेठ ५ गते २०८१

काठमाडौंमा फेरी लकडाउनको तयारी !

काठमाडौंमा फेरी लकडाउनको तयारी !

अखबार दैनिक
शुक्रबार, कात्तिक २८ २०७७
  • काठमाडौंमा फेरी लकडाउनको तयारी !

    कात्तिक २८,

    images

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो ।

    मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको हो । छलफलमा तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएको छ । ‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरेर परीक्षणको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’, बैठकपछि उनले भने ।

    बैठकमा त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नुपर्ने सुझावसमेत आएका छन् । बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

    पछिल्लो समय मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार