सोमबार, असोज १९ गते २०८३

संयुक्त राष्ट्र महासभामा नेपालको सन्देश स्पष्ट हुनुपर्छः सहानुभूति आवश्यक छ, तर सहानुभूति मात्रै पर्याप्त छैन

संयुक्त राष्ट्र महासभामा नेपालको सन्देश स्पष्ट हुनुपर्छः सहानुभूति आवश्यक छ, तर सहानुभूति मात्रै पर्याप्त छैन

अखबार दैनिक
बिहीबार , असोज ८ २०८३
  • संयुक्त राष्ट्र महासभामा नेपालको सन्देश स्पष्ट हुनुपर्छः सहानुभूति आवश्यक छ, तर सहानुभूति मात्रै पर्याप्त छैन

    काठमाडौँ, ८ असोज, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मङ्गलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरिसक्नुभएको छ । गत भदौ १० गते भोटेकोशी नदीको बाढीको जलवायुको ज्वलन्त उदाहरण प्रस्तुत गर्दै नेपालले महासभामा जलवायु न्यायका लागि आवाज उठाउँदैछ । यतिबेला जलवायुविद् मञ्जित ढकाल पनि न्यूयोर्कमा नै हुनुहुन्छ । क्लाइमेट एनालिटिक्स साउथ एसियाका निर्देशक रहनुभएका जलवायुविद् ढकालले निरन्तर बढिरहेको तापक्रम, हिमनदीमा भइरहेको परिवर्तन, पर्माफ्रस्ट अर्थात् लामो समयदेखि जमेर रहेको भू–भागको पग्लाइ, चट्टानका चिराभित्र पानी पस्ने प्रक्रिया र पहिलेदेखिको भूगर्भीय कमजोरीलगायतका कारणले यस्तो विपद् निम्तिएको बताउनुहुन्छ । प्रस्तुत छ, क्लाइमेट एनालिटिक्स साउथ एसियाका निर्देशकसमेत रहनुभएका जलवायुविद् ढकालसँग भोटेकोशी बाढी, जलवायु परिवर्तन, जलवायु न्याय, क्षति तथा नोक्सानी र अन्तरराष्ट्रिय मञ्चमा नेपालले उठाउनुपर्ने जलवायुका मुद्धाका विषयमा राससको पत्रकार प्रगति ढकालले गरको कुराकानीको अंशः     
        
    भोटेकोशीमा आएको पछिल्लो बाढीलाई वैज्ञानिक दृष्टिले कसरी बुझ्नुपर्छ ? यो जलवायु परिवर्तनसँग कत्तिको सम्बन्धित घटना हो ?    
    यो सामान्य नदीमा आएको बाढी वा हिमताल फुटेर आएको बाढी थिएन । उच्च हिमाली क्षेत्रमा चट्टान र त्यसमाथि रहेको हिमनदीको ठूलो हिस्सा एकैपटक भत्किएपछि चट्टान, बरफ, हिउँ, पानी र गेग्रानको विशाल बहाव तीव्र गतिमा तल झरेको थियो । स्रोत क्षेत्रबाट करिब २२ किलोमिटर तल रसुवागढीसम्म बहाव सात मिनेटमै आइपुगेको अनुमान छ । यस घटनापछि वल्र्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए), अर्थात् जलवायुमान्य प्रकोपमा जलवायु परिवर्तनको भूमिका अध्ययन गर्ने अन्तरराष्ट्रिय वैज्ञानिक सञ्जालअन्तर्गत विश्वका अग्रणि हिमनदी, जलवायु, जलविज्ञान, भूगर्भ र विपद् विज्ञानका वैज्ञानिकसँग मिलेर हामीले यसको अध्ययन ग¥यौँ ।     
        
    वैज्ञानिक अध्ययनमा उल्लेख भएअनुसार निरन्तर बढिरहेको तापक्रम, हिमनदीमा भइरहेको परिवर्तन, पर्माफ्रस्ट अर्थात् लामो समयदेखि जमेर रहेको भू–भागको पग्लाइ, चट्टानका चिराभित्र पानी पस्ने प्रक्रिया र पहिलेदेखिको भूगर्भीय कमजोरीलगायतका कारण यो विपद् निम्तिन पुग्यो । घटनाअघिका जुलाई र अगस्ट महिनाको तापक्रम असाधारण रूपमा बढेको थियो । जलवायु परिवर्तनका कारण त्यस अवधिको तापक्रम औद्योगिक युगअघिको अवस्थाभन्दा करिब १.५ डिग्री सेल्सियस बढी भएको देखायो । वार्षिक औसतमा यस क्षेत्रमा मानवजनित तापक्रम वृद्धिको प्रभाव करिब दुई डिग्री सेल्सियस छ ।     
        
    जलवायु परिवर्तनले यस्ता बाढीको प्रकृति र जोखिमलाई कसरी परिवर्तन गरिरहेको छ ? पहिलेभन्दा अहिले के फरक देखिँदैछ ?    
    मुख्य फरक भनेको जोखिमको प्रकृति, गति र जटिलता बदलिँदै जानु हो । पहिले हाम्रो ध्यान नदी बाढी, पहिरो वा हिमताल विस्फोटमा छुट्टाछुट्टै केन्द्रित थियो । अहिले हिमनदी, पर्माफ्रस्ट, अस्थिर भू–बनोट, वर्षा र नदी प्रणाली एकअर्कासँग जोडिएर नयाँ किसिमका जोखिम सिर्जना गर्न सक्छन् । अध्ययनले मनसुन र मनसुनपछिको समयमा शून्य डिग्री तापक्रम रहने उचाइ पछिल्ला दशकमा प्रति दशक करिब १०० मिटर माथि सर्दै गएको देखाएको छ । हिमनदी पातलिँदै छन्, पर्माफ्रस्ट कमजोर हुँदैछ र पहिले हिउँका रूपमा पर्ने पानी वर्षाका रूपमा पर्न सक्ने उचाइ पनि बदलिँदैछ । यी सबै परिवर्तनले हिमाली भूभागको स्थिरतामा असर पार्न सक्छन् ।     
        
    नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि ठूलो क्षति भोगिरहेको छ । भोटेकोशीजस्ता घटनालाई जलवायु न्यायको अन्तरराष्ट्रिय बहससँग कसरी जोड्न सकिन्छ ?    
    न्यून उत्सर्जन गर्ने देशले बढ्दो जलवायु जोखिमको मूल्य चुकाउनुपर्ने नै जलवायु न्यायको मूल प्रश्न हो । नेपालले विश्वको हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त थोरै योगदान गरेको छ, तर हिमालदेखि तराईसम्म बाढी, पहिरो, अत्यधिक वर्षा र अन्य जोखिमको भार असमान रूपमा ठूलो छ । रसुवा भोटेकोशीले यो बहसलाई सैद्धान्तिक विषयबाट वास्तविकतामा ल्याएको छ । प्रारम्भिक मूल्याङ्कनअनुसार क्षति तथा नोक्सानी चार खर्ब आठ अर्ब रुपैयाँभन्दा बढी र पुनःस्थापना तथा पुनर्निर्माण आवश्यकता सात खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी छ । यही असमानता जलवायु न्यायको सबैभन्दा बलियो आधार हो ।     
        
    यतिबेला तपाई पनि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको ८१औँ महासभामा भाग लिन अमेरिका पुग्नुभएको छ । नेपालले भोटेकोशी बाढीलाई प्रमाण बनाएर जलवायु न्यायको मुद्दा कसरी बलियो बनाउन सक्ला ?    
    नेपालले यसलाई केवल एउटा दुःखद् विपत्तिको कथा बनाएर प्रस्तुत गर्नु हुँदैन । विज्ञान, क्षतिको तथ्याङ्क र न्यायको प्रश्नलाई एउटै आवाजमा जोड्नुपर्छ । विश्व तापक्रम वृद्धि, हिमनदी र पर्माफ्रस्टमा आएको परिवर्तन, अनुकूलनको सीमा, पुनःनिर्माणको लागत र अन्तरराष्ट्रिय वित्तमा पहुँचको कठिनाइलाई एउटै उदाहरणभित्र देखाउन सकिन्छ । यस वर्ष संयुक्त राष्ट्र महासभाको ८१औँ सत्र ८ सेप्टेम्बरमा सुरु भएको छ र उच्चस्तरीय सप्ताहमा जलवायु तथा न्यायसम्बन्धी बहसका लागि छुट्टै अवसर छन् । संयुक्त राष्ट्र महासभामा नेपालको सन्देश स्पष्ट हुनुपर्छ–सहानुभूति आवश्यक छ, तर सहानुभूति मात्रै पर्याप्त छैन ।     
        
    आगामी कोप ३१ मा नेपालले हिमाली देशको आवाज प्रभावकारी बनाउन कुन विषयलाई सबैभन्दा प्राथमिकतामा राख्नुपर्छ ?    
    कोप ३१ मा विशेषतः पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न तीव्र कार्बन उत्सर्जन कटौती गर्न, पर्वतीय क्षेत्रमा अनुकूलनका लागि पर्याप्त तथा सहज वित्त र क्षति तथा नोक्सानीका लागि द्रुत एवं अनुदानमा आधारित सहयोग । हिमालय क्षेत्रका लागि १.५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम कति माथि जान्छ र कति समय त्यहाँ रहन्छ भन्ने विशेष महत्व राख्छ । कोप ३१ नोभेम्बर ९–२०, २०२६ मा टर्कीको अन्ताल्यामा हुँदैछ । नेपालले पर्वतीय क्षेत्रमा जोखिमलाई छुट्टै वैज्ञानिक र वित्तीय प्राथमिकताका रूपमा स्थापित गर्न अन्य पर्वतीय तथा अति जोखिमयुक्त देशसँग सहकार्य गर्नुपर्छ ।     
        
    नेपालले जलवायुजन्य हाानि–नोक्सानी सम्बोधनको विषय उठाउँदै आएको छ । व्यवहारमा क्षतिपूर्ति वा सहयोग प्राप्त गर्न नेपालले के गर्नुपर्छ ?    
    पहिलो कुरा, क्षति तथा नोक्सानीको व्यवस्थित तथ्याङ्क र मूल्याङ्कन बलियो बनाउन आवश्यक छ । आर्थिक क्षतिसँगै जनधनको क्षति, विस्थापन, संस्कृति, मानसिक आघात र जीविकोपार्जनजस्ता गैर–आर्थिक क्षति पनि अभिलेख गर्नुपर्छ । दोस्रो, क्षति तथा नोक्सानी कोषमा नेपालको आग्रहलाई एउटा घटनामा सीमित नराखी द्रुत र सरल पहुँचको नमुना बनाउनुपर्छ । तेस्रो, एउटै कोषले सबै पुनःनिर्माण धान्न सक्दैन । त्यसैले द्विपक्षीय साझेदार, बहुपक्षीय विकास बैङ्क, विभिन्न जलवायु कोष, प्रविधि सहयोग र उपयुक्त निजी लगानीलाई एउटै जलवायु सहनशील पुनर्निर्माण योजनाभित्र परिचालन गर्नुपर्छ ।     
        
    जलवायु वित्तको प्रतिबद्धता धेरै सुनिन्छ, तर जोखिममा रहेका समुदायसम्म त्यसको लाभ किन पर्याप्त रूपमा पुग्न सकेको छैन ?    
    समस्या पैसा कम हुनुमा मात्र छैन, पैसा कति छिटो, कति सरल र कति प्रत्यक्ष रूपमा पुग्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । नेपालले हिमताल र हिमनदीजन्य बाढीको जोखिम घटाउने परियोजनाको अवधारणा सन् २०१८ मा हरित जलवायु कोषमा बुझाएको थियो; स्वीकृति सन् २०२५ मा आयो र कार्यान्वयन २०२६ मा सुरु भयो । करिब सात वर्षको प्रक्रियाले एउटा गम्भीर विरोधाभास देखाउँछ । यस्ता विषय सम्बोधन हुन आवश्यक छ ।    
        
    विकसित मुलुकको जलवायु वित्त र नेपालको वास्तविक आवश्यकताबीचको अन्तर कति ठूलो छ ? नेपालले कोप ३१ मा कस्तो माग राख्नुपर्छ ?    
    रसुवा भोटेकोशीको एउटा घटनाकै पुनःस्थापना आवश्यकता करिब सात खर्ब २३ अर्ब रुपैयाँ छ । यसले उपलब्ध अन्तरराष्ट्रिय स्रोत र वास्तविक आवश्यकताबीचको अन्तर कति ठूलो छ भन्ने देखाउछ नेपालले कोप ३१ मा केवल थप पैसा भन्ने सामान्य मागभन्दा पर्याप्त, अनुदानमा आधारित, ऋणको भार नबढाउने, सरल र सहज पहुँचयोग्य वित्तको माग स्पष्ट गर्नुपर्छ । साथै पर्वतीय देशका लागि अनुकूलन र क्षति तथा नोक्सानीमा छुट्टै प्राथमिकता आवश्यक छ ।    
        
    हरेक वर्ष कोपमा नेपालले जलवायु न्याय र हिमाली एजेन्डा उठाउँछ । तर नेपालभित्रै जलवायु अनुकूलन र जोखिम न्यूनीकरणमा पर्याप्त काम हुन नसक्नुको कारण के हो ?    
    यसमा मुख्य समस्या टुक्राटुक्रा योजना, कमजोर संस्थागत समन्वय, सीमित वैज्ञानिक तथ्य र परियोजना–केन्द्रित काम हो । हिमताल, पहिरो, नदी बाढी र हिमनदीलाई अलग–अलग हेर्ने अभ्यासले भोटेकोशीजस्तो बहुजोखिम बुझ्न सकिँदैन । जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अर्थ, ऊर्जा र स्थानीय विकासबीच प्रभावकारी समन्वय चाहिन्छ । यी सबैका लागि दीर्घकालीन संस्थागत लगानी चाहिन्छ ।    
        
    नेपालले अन्तरराष्ट्रिय मञ्चमा जलवायु न्याय माग्दै गर्दा आफ्नै नीति र विकास अभ्यासमा गर्नुपर्ने सबैभन्दा ठूलो सुधार के हो ?    
    विकास योजनाको केन्द्रमै भविष्यको जलवायु जोखिम राख्नुपर्दछ । प्रश्न जलविद्युत् बनाउने कि नबनाउने होइन; कहाँ बनाउने, कस्तो डिजाइन गर्ने, श्रमिक कसरी सुरक्षित राख्ने, पहुँच सडक र प्रसारण लाइनको विकल्प के हुने, र भविष्यको तापक्रम तथा हिमाली क्षेत्रमा हुने जोखिम आयोजनाको डिजाइनमा कसरी समेट्ने भन्ने हो । अन्तरराष्ट्रिय समुदायसँग न्यायको माग गरिरहँदा आफ्नै विकासलाई पनि जलवायु सहनशील बनाउन आवश्यक छ ।    
        
    नेपालमा पछिल्ला वर्षमा बाढी, पहिरो, अतिवृष्टि तथा हिमाली विपद्का घटना बढ्दै गएको देखिन्छ । यो केवल संयोग हो कि जलवायु परिवर्तनको स्पष्ट सङ्केत ?    
    जोखिममा भूगर्भ, भू–उपयोग, बस्ती, पूर्वाधार, गरिबी र तयारीको अवस्था पनि महत्त्वपूर्ण हुन्छ । अध्ययनले मानवजनित जलवायु परिवर्तनका कारण नेपालका विभिन्न भू–भागमा अत्यधिक गर्मी र भारी वर्षाका घटनाको सम्भावना र तीव्रता बढिरहेको, केही घटनाको सम्भावना तीन गुणासम्म बढेको देखाएका छन् ।    
        
    हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लने, हिमतालको जोखिम र अचानक आउने बाढीबीच कस्तो सम्बन्ध छ ?    
    तापक्रम बढ्दा हिमनदी र पर्माफ्रस्ट पग्लिन्छ, चट्टानका धाँजामा रहेको बरफ कमजोर हुन्छ र पानीभित्र पस्न सक्छ । कतिपय ठाउँमा हिमताल फैलिन्छन् र कतिपय ठाउँमा हिउँ र जमिनको सहारा कमजोर हुन्छ । त्यसैले भविष्यको जोखिम केवल हिमताल फुट्ने बाढीमा मात्र सीमित छैन; रसुवा भोटेकोशीको जस्तो घटना, पहिरो र त्यसपछि आउने अत्यन्त तीव्र बहाव पनि जोखिमको हिस्सा हुन् ।    
        
    भोटेकोशीजस्तो घटना पूर्वानुमान गर्न वा कम्तीमा केही समयअघि जोखिम पहिचान गर्न नेपालसँग पर्याप्त वैज्ञानिक क्षमता र प्रविधि छ ?    
    नेपालमा परम्परागत नदी बाढी पूर्वसूचनामा नेपालले उल्लेख्य प्रगति गरेको छ । तर भोटेकोशीको घटनाले यसको सीमा देखायो । नदीको पानीको सतह नापेर मात्र यस्तो घटना पूर्वानुमान गर्न सकिँदैन अब हिमनदी, पर्माफ्रस्ट, अस्थिर भू–बनोट, हिमताल, मौसम र उपग्रहबाट देखिने भूभागको परिवर्तनलाई एउटै बहुजोखिम अनुगमन प्रणालीमा जोड्नुपर्छ । चीन र भारतसँग तथ्याङ्क तथा जोखिम सूचना नियमित रूपमा आदानप्रदान गर्नु पनि अत्यावश्यक छ ।    
        
    अबको विकास मोडल नै जलवायु जोखिमलाई ध्यानमा राखेर परिवर्तन गर्नुपर्ने अवस्था आएको हो ?    
    हो, भोटेकोशीको सबैभन्दा ठूलो पाठ यही हो कि पुरानो जोखिमको आधारमा भविष्यको पूर्वाधार बनाउन अब पर्याप्त हुँदैन । बढ्दो तापक्रमसँगै जोखिमको प्रकृति बदलिँदैछ । सडक, जलविद्युत्, बस्ती, प्रसारण लाइन र अन्य पूर्वाधारको योजना बनाउँदा आजको मात्र होइन, आगामी दशकको जलवायु र हिमाली क्षेत्रमा हुने जोखिम पनि समेट्नुपर्छ । अन्ततः नेपाललाई केवल विपत्तिपछि पुनर्निर्माण गर्ने विकास मोडल होइन, जोखिम बुझेर पहिले नै सुरक्षित बनाउने जलवायु सहनशील विकास मोडल चाहिन्छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ