असोज ३०,
एक जना युवकको सुर्खेतमा कोरोनाभाइरसका कारण मृत्यु भएको कुरा उनि मरिसकेपछी थाहा भएको छ । ति २२ वर्षीय युवकको बिहीबार बेलुका मृत्यु भएको हो । कर्णाली प्रदेश अस्पातलमा उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
ती युवकमा कोरोना भाइरसको लक्षण समेत देखिएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार ती युवकलाई सास फेर्न गाह्रो भएको थियो ।
२८ गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षामा भर्ना भएका उनलाई सास फेर्न गाह्रो भएपछि लगत्तै सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको मुखमा पाइप राखेर उपचार गरिएको र सुधार नभएपछि २९ गते बिहान एक्सरे गर्दा फोक्सोको बाहिरी भागमा हावा भरिएको पाइएको पौडेलले जानकारी दिए ।
त्यसपछि उनलाई छातीमा पनि पाइप राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा २९ गते बिहान उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । ५ बजे मृत्यु भएका ती युवकको साँझ ७ बजे आएको पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको पौडेलले बताए ।