शनिबार, वैशाख १५ गते २०८१

१५ कम्पनीको आईपीओ आउँदै

१५ कम्पनीको आईपीओ आउँदै

अखबार दैनिक
सोमबार, असोज १९ २०७७
  • १५ कम्पनीको आईपीओ आउँदै

    काठमाडौँ, १९ भदौ । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका १५ कम्पनीको आईपीओ आउँदै छ । सेयर निष्कासन अनुमतिका लागि १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

    images

    एउटा कम्पनी (सानिमा जनरल इन्स्योरेन्स) ले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यो कम्पनीले आउँदो बुधबार (असोज २१) देखि सेयरका लागि आवेदन संकलन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० लाख कित्ता ९३० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको छ ।

    बाँकी १४ कम्पनीले बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गर्नेछन् । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १४ कम्पनीले ३ अर्ब ८५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८४ लाख ७३ हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् समूह, ३ वटा अन्य समूह र एउटा मर्चेन्ट बैंकिङ समूहका कम्पनी हुन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।

    सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघु जलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत् (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् । सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । अन्य समूहअन्तर्गत रहेर सेयर निष्कासन गर्ने उल्लिखित तीन कम्पनीमध्ये आआफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन् । यसअघि ती क्षेत्रका कम्पनीले सेयर निष्कासन गरेका छैनन् ।

    पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ३४ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो वर्ष यस्तो संख्या बढेर ५० हाराहारीमा पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् ।

    नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ ।

    जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ ।

    दोस्रो बजारमा जलविद्युत् समूहका कम्पनी थपिए पनि तिनको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन । यही कारण लामो समय डेढ दर्जनभन्दा बढी जलविद्युत् कम्पनीको सेयर अंकित मूल्य १ सयभन्दा कम थियो । केही सातायता सेयर बजार निरन्तर बढ्न थालेपछि ती कम्पनीको सेयर मूल्य अंकित मूल्य (प्रतिसेयर एक सय रुपैयाँ) भन्दा माथि पुगेको छ । यद्यपि अझै पनि लगानीकर्ताले ढुक्क भएर जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने अवस्था नभएको जानकारहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार