शुक्रबार, वैशाख २१ गते २०८१

दसैंअघि नै नेपाल-भारत दुईतर्फी हवाई उडान खुलाउने तयारी, क्याबिनेटको औपचारिक निर्णयको पर्खाइ

दसैंअघि नै नेपाल-भारत दुईतर्फी हवाई उडान खुलाउने तयारी, क्याबिनेटको औपचारिक निर्णयको पर्खाइ

अखबार दैनिक
शनिबार, असोज १७ २०७७
  • दसैंअघि नै नेपाल-भारत दुईतर्फी हवाई उडान खुलाउने तयारी, क्याबिनेटको औपचारिक निर्णयको पर्खाइ

    १७ असोज,काठमाडौं । चैत १० बाट भारतमा लकडाउन लागेपछि टुटेको भारतसँगको नियमित हवाई सम्पर्क झन्डै सात महिनापछि पुनः सुरु हुने भएको छ ।

    images

    नेपाल-भारत नियमित उडान थाल्ने गरी आवश्यक तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार दसैंअघिबाटै नेपाल-भारत दुईतर्फी हवाई उडान पुनः खुलाउने तयारी भएको छ ।

    करिब एक महिनाअघि नै भारतले दुईतर्फी उडान थाल्न प्रस्ताव गरेको थियो। त्यसयता नै दुईतर्फी उडान खुला गर्ने

    विषयमा छलफल सुरु भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। 'भारत सरकारले प्रस्ताव गरेअनुसार हामीले दसैंअगाडि दुईतर्फी उडान पुनः संचालन गर्ने योजना बनाएका छौं। यसका लागि क्याबिनेटमा प्रस्ताव पेश भइसकेको छ,' उनले भने।  

    लकडाउनसँगै भारतले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको एक दिनपछि नेपालमा पनि  लकडाउन सुरु भएको थियो । त्यसयता दुई देश आवतजावत गर्ने हवाई र सडक सम्पर्क दुवै बिच्छेद भएको थियो । 

    उडान प्रतिबन्धअघि नेपाल-भारत चार गन्तव्यमा दुई नेपाली वायुसेवा कम्पनी र तीन भारतीय वायुसेवाले उडान भर्दै आएका थिए । यी पाँचै वायुसेवाको गरी सातामा कुल ६४ उडान हुने गरेको हो । ओहोरदोहोर दुवै गर्दा यो संख्या १२८ हुन आउँछ ।

    जसमा नेपाल एयरलाइन्सको काठमाडौं-दिल्ली-काठमाडौं दैनिक दुईवटा तथा काठमाडौं-बैंङ्लोर-काठमाडौं र काठमाडौं-मुम्बई-काठमाडौं सातामा तीनवटा उडान रहेको छ ।

    यस्तै, नेपाली निजीक्षेत्रको वायुसेवा बुद्ध एयरले सातामा बनारसको दुईवटा उडान गर्दै आएको हो । यीबाहेक भारतीय वायुसेवा कम्पनी एयर इन्डिया, भिस्तारा एयर र इन्डिगोको पनि दिल्लीको दैनिक दुईवटा उडान तालिका रहेको छ ।

    यी वायुसेवा कम्पनीहरुलाई दसैंअघि नै नियमित उडान सुरु गर्न दिने मन्त्रालयले तयारी गरेको हो । मन्त्रालयका सहसचिव लामिछानेका अनुसार, मन्त्रिपरिषद यसमा मौखित रुपमा सहमत भइसकेको छ । 'अब औपचारिक निर्णय हुन मात्र बाँकी हो, तर लगभग पक्का भइसकेको छ दसैंअघि भारत उडान खोल्ने विषयमा,' उनले भने, 'मन्त्रिपरिषदबाट निर्णय भएपछि बाँकी प्रक्रियाका लागि प्राधिकरणलाई अनुमति दिइनेछ ।'

     मन्त्रिपरिषदबाट पास भएपछि मन्त्रालयले कुन एयरलाइन्सलाई दैनिक वा सातामा कतिवटा उडानको अनुमति दिने भन्ने यात्रु मागबमोजिमको आवश्यकता र स्वास्थ्य सुरक्षा प्रबन्धको तयारी हेरेर निर्णय गर्ने अधिकार नागरिक उड्डयन प्राधिकरणलाई दिनेछ । प्राधिकरणले सोहीबमोजिम वायुसेवा कम्पनीहरुलाई भारतीय गन्तव्यमा उडान पुनः थाल्न दिनेछ ।

    कोभिड-१९ संकटले नियमित उडान बन्द हुनुअघि नेपाल-भारत हवाई मार्गबाट ओहोरदोहोर गर्ने यात्रु संख्या सातामा साढे १६ हजार रहेका थिए ।

    बुद्ध एयरले सातामा दुईपटक (आउजाउ गर्दा चार) उडानमा ७२ सिटे एटीआर प्रयोग गरेको छ भने बाँकी चारवटै वायुसेवाले १५८ सीटे न्यारोबडी जहाजबाट नेपाल भारत उडान गरिरहेका छन् ।  सबैको औसत अकुपेन्सी कम्तिमा ९० प्रतिशत रहने गरेको आँकडा छ । यस आधारमा साताभरको १२८ उडानबाट उक्त संख्यामा यात्रु हिँड्ने गरेको देखिएको हो ।

    अर्थात्, कोभिडबाट आय प्रभावित बनेका यी वायुसेवा कम्पनीहरुले नियमित उडान पुनः सुरु भएपछि महिनामा झन्डै ५ लाख 'प्यासेन्जर विजनेश' नेपाल-भारत उडानका पाँच गन्तव्यबाट पाउनेछन् । 

    दुवै मुलुकमा कोभिड-१९ संक्रमणको दर घट्नुको साटो झन् झन् बढिरहेकाले उडान खुलाउँदा अपनाउनुपर्ने थप सतर्कताका लागि कार्ययोजना बनाइएको छ। सरकारले अन्तर्राष्ट्रिय उडान खुला गरे पनि कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भारतसँगका उडान अहिलेसम्म सुरु नगरेको बताउँदै आएको छ ।

    यद्यपि, अब भने  स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर उडान खुलाइने लामिछानेले बताए। 'दुई मुलुकबीच कनेक्ट सिम्बोलको आधारमा उडान खुला गर्न लागिएको हो। पहिलाको जस्तो उडान संख्या भने कायम हुँदैन,' उनले भने। 

    क्याबिनेटबाट स्वीकृत भएको अवस्थामा करिब सात महिनापछि नेपाल-भारत दुइतर्फी उडान पुनः सुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार