आइतबार, मंसिर ९ गते २०८१

पोखरामा पर्यटन दिवसः पर्यटनमा आशा जगाउँदै गण्डकी प्रदेश सरकार

पोखरामा पर्यटन दिवसः पर्यटनमा आशा जगाउँदै गण्डकी प्रदेश सरकार

अखबार दैनिक
आइतबार, असोज ११ २०७७
  • पोखरामा पर्यटन दिवसः   पर्यटनमा आशा जगाउँदै गण्डकी प्रदेश सरकार

    पोखरा
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन क्षेत्र अब खुलाउनुको विकल्प नभएको बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा आईतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको विबीनार अर्थात भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले कोभिड १९ का कारण पर्यटन क्षेत्र शिथिल अवस्थामा पुगेकाले डब्लु.एच.ओ.ले तोकेको सुरक्षा मापदण्ड पुरा गरि अब पर्यटन क्षेत्रका हरेक क्रियाकलापहरु सुचारु गर्नुपर्ने बताउनुभएको हो । कोभिड १९ को महामारीले गर्दा पर्यटन व्यवसाय कठिन परिस्थितिमा पुगेको बताउदै उहाँले पर्यटन क्षेत्र ठप्प हुदाँ गण्डकी प्रदेशमा दैनिक करोडौँ रकम गुमाउन परेको बताउनुभयो । बर्षौ भरी लकडाउन गरेर अब सम्भव छैन,मुख्यमन्त्री गुरुङले भन्नुभयो,” हात खुट्टा बाँधेर बस्नु हुदैन, अब आफ्ना हरेक क्रियाकलापलाई अगाडी बढाउनुपर्छ । पर्यटन उद्योगको पुनरुत्थानले नै कोभिडबाट शिथिल अर्थतन्त्रलाई तंग्रिलो बनाउन सक्ने भन्दै उहाँले पर्यटनका लागि आधारभूत पूर्वाधार र आवश्यकता पहिल्यै भएकाले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउँदै र मापदण्ड पालना गर्दै अघि बढ्न सकिने धारण राख्नुभयो ।
           विपत्तिका बीच जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकारले आर्थिक गतिविधि चलायमान बनाउन कुनै कसर बाँकी नराखेको बताउदै मुख्यमन्त्री गुरुङले अब ढुक्क भएर पर्यटन व्यवसाय सुचारु गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसायलाई कसरी बचाउने र पहिलाको भन्दा बिल्ड ब्याक बेटर टुरिजमको अवस्थामा पु¥याउन गण्डकी प्रदेश सरकारले योजना बनाएको बताउनुभयो ।
    कोभिड १९ ले पार्न सक्ने सम्भावित असर र प्रभावलाई पूर्वानुमान गरेर नै गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत व्यवसाय सुरक्षा कोष व्यवस्था गरेको बताउदै उक्त कोषलाई सहि ढंगले परिचालन गरी केही हदसम्म पर्यटन, कृषि, यातायात, उद्योग तथा व्यवसायीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    “यो बर्ष पर्यटन र ग्रामीण विकास भन्ने मुल नारा राखिएको छ,  स्वदेशी पर्यटनलाई प्रथामिकता दिएको छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो,” विदेशी पर्यटक तत्काल आउने सम्भावना पनि छैन,” पहिला आन्तरिक पर्यटनलाई बढवा दिउँ । पर्यटकलाई जुनसुकै गण्डकी प्रदेशका गन्तव्यमा पुग्नका लागि पनि आफू सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति प्रदेश सरकारले गराउने उहाँको भनाई थियो ।
    ग्रामीण पर्यटनको विकास गर्न गण्डकी प्रदेश सरकारले ३ सय गाउँलाई होमस्टेको रुपमा विकास गरेको चर्चा गर्दै उहाँले ग्रामिण भेगमा प्राकृतिक र सांस्कृति पर्यटनको अथाह सम्भावना रहेको चर्चा गर्नुभयो । अन्नपूर्ण र मनाश्लु संरक्षण क्षेत्र यसका प्रमाण हुन्, नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई पनि अतुलनीय उदाहरणको रुपमा लिन सक्छौं, मुख्यमन्त्री गुरुङले भन्नुभयो ।
    उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर उत्साहित बनेका पर्यटन व्यवसायीले लगानी बढाइरहँदा कोरोनाले नराम्रोसँग प्रभावित पारेको बताउदै कत्ति पनि बिचल्लीमा नपर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । अब पर्यटनक्षेत्र खुलेसँगै पोखरामा पर्यटकीय गतिविधि पनि विस्तारै चलायमान बन्ने उहाँको भनाई थियो । गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेकाले प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको बताउदै प्रदेश सरकारले प्रत्येक स्थानीय तह र जिल्लालाई समेट्ने गरी सांस्कृतिक र प्राकृतिक गन्तव्यस्थलको पहिचान गरी ती गन्तव्य स्थलको ग्रामीण पूर्वाधार विकासका लागि काम थालनी समेत गरिसकेको बताउनुभयो ।
    पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले थला परेको पर्यटन व्यवसायलाई उकास्न सरकारले तत्काल ठोस पहल थाल्नुपर्ने बताउनुभयो । सरकारले ल्याएको मौद्रीक नितिले ठुला उद्योग,व्यवसायीलाई सम्बोधन गरेता पनि साना उद्योगीहरुलाई भने सम्बोधन गर्न नसकेको बताउनुभयो ।
    पर्यटन व्यवसायी टिकारामा सापकोटाले ग्रामिण पर्यटनको विकास गर्न जरुरत रहेको बताउनुभयो । जमुना पराजुलीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न महिलाहरुको भुमिका अतुलनिय रहेको चर्चा गर्दै महिलाहरुलाई पर्यटन व्यवसायमा आकर्षित गर्ने खालका कार्यक्रम अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा गण्डकी प्रदेश भ्रमण बर्ष २०१९—२०२२ का संयोजक जुद्ध बहादुर गुरुङले कोभिड १९ ले पर्यटनमा पारेको प्रभाव,चुनौती र समाधानका उपाय बारे प्रस्तुती राख्नुभएको थियो । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पर्यटन महाशाखा प्रमुख डिल्ली रिजालले गर्नुभएको थियो ।
    पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री गुरुङ र पर्यटन मन्त्री लम्सालले ढुंगा सयर गरी टान पोखराले आयोजना गरेको फेवा फेरो ट्रेल कार्यक्रमलाई समेत सम्बोधन  गर्नुभएको थियो । 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार