सोमबार, जेठ ७ गते २०८१

समर्थकलाई अपिल गर्दै कुलमानले निकाले विज्ञप्ती

समर्थकलाई अपिल गर्दै कुलमानले निकाले विज्ञप्ती

अखबार दैनिक
शनिबार, असोज ३ २०७७
  • समर्थकलाई अपिल गर्दै कुलमानले निकाले विज्ञप्ती

    काठमाडौं, ३ असोज ।  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक, कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दे विभिन्न ठाउँमा भइरकेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेका छन् ।

    images

    शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

    प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्ने घिसिङले जारी विज्ञप्तिमा जनाएका छन् ।

    ४ वर्षे कार्याकाल सकेर विदा भएका कुलमानको पुनर्नियुक्तिको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत पनि उनको पुनर्नियुक्तिका लागि व्यापक दबाब बढिरहेको छ ।

    कुलमानले जारी गरेको विज्ञप्ती :

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

    विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

    कुलमान घिसिङ

    निवर्तमान कार्यकारी निर्देशक

    नेपाल विद्युत प्राधिकरण

    २०७७/०६/०३ शनिबार

    प्रतिक्रिया दिनुहोस

    थप समाचार