बुधबार, मंसिर ५ गते २०८२

लहानमा ‘स्वच्छता अभियान’ सुरु

लहानमा ‘स्वच्छता अभियान’ सुरु

अखबार दैनिक
बुधबार, मंसिर ५ २०८२
  • लहानमा ‘स्वच्छता अभियान’ सुरु

    यहाँको लहान नगरपालिकाले दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ ।

    विश्व शौचालय दिवसका अवसरमा आज पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेशप्रसाद चौधरीले अभियानको उद्घाटन गर्दै स्वच्छता सुधारलाई अबको मुख्य प्राथमिकताका रूपमा अघि बढाइने घोषणा गर्नुभयो ।

    नगरप्रमुख चौधरीका अनुसार सात वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको लहानमा अझै पनि चार हजारभन्दा बढी घरपरिवार शौचालयविहीन रहेका छन् । उहाँले भन्नुभयो, “अब कागजमा मात्रै होइन, घरघरको वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ । त्यसको लागि हामीले स्वच्छता महाअभियानको सुरुआत गरेका छौँ ।”

    नगरपालिकाले गरेको प्रारम्भिक विश्लेषणअनुसार दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्तीहरूमा सरसफाइ समस्या अझै गम्भीर देखिएको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित खानेपानीको कमी तथा नियमित मर्मतसम्भार नहुनुजस्ता कारणले नगरको समग्र स्वच्छतास्तर कमजोर भएको जनाइएको छ ।

    यस्तै, भूमिहीन सुकुम्बासी परिवारका लागि उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापनपूर्व स्थानान्तरण प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि नगरप्रमुख चौधरीले व्यक्त गर्नुभयो । अभियानका क्रममा नगरपालिका, जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायका संस्था, विद्यालय तथा युवा समूहको सहकार्यमा तीन महिनासम्म घरघरमै पुगेर प्रत्यक्ष अनुगमन गर्ने तयारी गरिएको छ ।

    नगरपालिकाले आगामी दुई वर्षमा लहानलाई पुनः पूर्ण खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको छ । नगरप्रमुख चौधरीले नगरवासीको सक्रिय सहभागिताकै माध्यमबाट स्वच्छता सुधार सम्भव हुने उल्लेख गर्दै भन्नुभयो, “शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो ।”

    उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ