नेकपा एमालेले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा संसदीय दलको बैठक मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखेको छ । उक्त बैठकमा सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमाथि कडा प्रहार गरेका छन् ।
उनले यो सरकार आएपछि देशलाई आर्थिक, सामाजिक, राजनीतिक हरेक हिसाबले देशलाई पछाडि धकेल्न खोजिएको बताएका छन् । उनले यो सरकारले ‘बाघ छालामा स्यालको रजाइँ’ जस्तो गतिविधि गरिरहेको बताएका हुन ।
अहिलेको सरकार भनेको बाघको छालामा स्यालको रजाइँ जस्तै हो’, उनले भने, ‘अहिले देशलाई राजनीति ,सामाजिक ,आर्थिक रुपले पछाडि धकेल्न खोजिएको छ । देश दोबाटोमा उभिए छ । देशको स्वाधीनता, स्वतन्त्रता जोगाएर समृद्धिको यात्रामा जानेकी विनास र बर्बादीको बाटोमा लैजाने यो महत्त्वपूर्ण प्रश्न हो ।’
उनले देशमा अहिले भ्रष्टाचार बढेको पनि आरोप लगाए । ‘देशमा भ्रष्टाचार अहिले बढेको छ । देश लोकतान्त्रिक प्रणालीमा अघि बढेको थियो । अहिले गलत तरिकाले ‘नेपो बेबी’ भनेर बच्चाबच्चीमा त्रास फैल्याइएको छ’, उनले भने, ‘त्यो बालबालिकाविरोधी अपराध हो । उनीहरूलाई मानसिक दबाब दिइयो । बाबुआमाले भ्रष्टाचार गरेका रहेछन् भने पनि बालबालिकाको के दोष ?’
