सोमबार, जेठ ७ गते २०८१

तीन सचिव रिक्त, तीन सचिव जगेडामा, काम नपाई विदा भए एक सचिव

तीन सचिव रिक्त, तीन सचिव जगेडामा, काम नपाई विदा भए एक सचिव

अखबार दैनिक
शनिबार, भदौ २७ २०७७
  • तीन सचिव रिक्त, तीन सचिव जगेडामा, काम नपाई विदा भए एक सचिव

    २७, भदौं, काठमाडौं । सहसचिवबाट सचिवमा बढुवा भएका वीरबहादुर राईले सचिवमा काम गर्न नपाई अघिल्लो साता अवकाश लिएका छन् जब कि उनले अवकाश लिदा देशभर ३ सचिव पद रिक्त थिए । ३ सचिव पद रिक्त हुँदा हुँदै पनि राईले सचिवमा काम गर्ने मौका पाएनन् । सहसचिवबाट सचिवमा बढुवा भए पछि अवकाश नपाउँदासम्म उनी जगेडामै बसे । राई बाहेक अरु दुई सचिव मधु मरासिनी र केदार न्यौपाने पनि अहिले जगेडामै छन् । केही दिन अघि मात्र सहसचिवबाट सचिवमा बढुवा भएका चन्द्रमान श्रेष्ठ पनि जगेडामा बस्ने पक्का छ । 

    images

    आफूलाई मन नपरेका सचिवलाई जगेडामा राख्ने परिपाटी केपी ओली सरकारले फेरि सुरु गरेको छ । यसअघि शाही कालमा झण्डै आधा दर्जन सचिवलाई जगेडामा राखिएको थियो । २०६२/६३को आन्दोलनको बेला शाही कालमा तत्कालिन सरकारले उमेश मैनाली, टीकादत्त निरौला, दिनेशचन्द्र प्याकुरेल लगायतका सचिवलाई जगेडामा राखेको थियो । शाही सरकार विघटन पछि गठन भएको सरकारले शाही सरकारको पालाका स्वास्थ्य सचिव दीर्घसिंह बमलाई जगेडामा राखेको थियो । तर गणतन्त्र कार्यान्वयन पछि सचिवलाई जगेडमा राख्ने गरिएको थिएन।

    यसअघि, ओली सरकारले २०७५ कात्तिकमा तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा ल्याई अतिरिक्त समूह(जगेडा)मा राख्ने निर्णय गरेको थियो तर सरकारको उक्त निर्णय कार्यान्वयन हुन पाएन । सो निर्णयको विरुद्ध चौधरीले भोलिपल्टै सर्वोच्च अदालतमा मुद्दा दायर गरिन । सर्वोच्चले सेवा समुह नमिलेको कारण देखाउँदै चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्‍यो । सर्वोच्चको आदेश पछि चौधरीलाई जगेडामा राख्ने निर्णय लागु हुन सकेन । चौधरीले एक दिन पनि प्रधानमन्त्री कार्यालयमा गइ हाजिर गरिनन् ।  

    २०७२ असोजमा सरकारले एकै पटक १३ सचिवलाई अतिरिक्त समुहमा राख्ने निर्णय गरेको थियो तर त्यतीखेर सचिवलाई अतिरिक्त समुहमा राख्नुको प्रयोजन फरक थियो । निजामती सेवा नियमावलीलाई कार्यान्वयनमा ल्याउन १३ सचिवलाई केही समयकोलागि अतिरिक्त समुहमा राखिएको थियो । नियमावली अनुसार केही दिन पछि विशेषज्ञताको आधारमा उनीहरुलाई विभिन्न कार्यालयमा खटाइएको थियो । तर ओली सरकारले लामो समयदेखि ३ सचिवलाई जगेडामा राखेको छ । जगेडामै रहेको बेला राइले अवकाश पाए भने अरु दुई सचिव अहिले पनि जगेडामै छन ।

    पूर्व प्रशासकहरुका अनुसार ३ सचिवलाई लामो समयसम्म जगेडामा राखिएको गणतन्त्र पछि यो पहिलो परम्परा हो । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा शिक्षा मन्त्रालयमा एक एक जना सचिव पद रिक्त छ । तर तीन वटा सचिव जगेडामै छन् । जगेडामा राखिएका सचिवको कुनै भुमिका हुन्न । उनीहरूको काम भनेको प्रधानमन्त्री कार्यालयमा जाने र हाजिरी गर्ने मात्र हो । जगेडामा राखिएका ३ सचिव मध्ये न्यौपाने सचिवमा कार्यरत हुँदा जगेडामा रहेका छन् भने बाँकि दुई सचिव सहसचिवबाट सचिवमा बढुवा भए पछि जगेडामा बसेका हुन् ।

    निजामती सेवा ऐन अनुसार सचिवमा बढुवा भएको ५ वर्ष पछि अनिवार्य अवकाश लिनुपर्ने हुन्छ । संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वे रिपोर्टमा देशभर ७२ सचिवको दरबन्दी कायम गरिएको छ तर प्रधानमन्त्री कार्यालयमा कति संख्या सचिव राख्ने भन्ने मापदण्ड राखिएको छैन । ओएनएम सर्वेमा नेपाल सरकारका सचिव प्रदेशमा गए पछि मुख्सचिव हुने व्यवस्था छ । यसैवीच, आगामि कात्तिक ६बाट मुख्य सचिव लोकदर्शन रेग्मीले अवकाश लिने भएका छन् । उनको ठाउँमा जान केही सचिवहरुको अहिलेबाटै दौडधुप शुरु भएको छ ।

    साभार:हाम्रोकुरा बाट 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार