नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।
नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए ।
‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेनजी सरकारले आगजनी, लुटपाट र हत्यामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्,’ उनले भने ।
नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताएका छन् ।
– न्युज एजेन्सी नेपाल