काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले आफूमाथि लागेको चरित्रहत्याको आरोपको विषयमा प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर लिखित बयान दिएका छन् ।
बस्नेतले आफ्नो फेसबुकमा चरित्रहत्या हुने खालका स्टाटस पोस्ट गरेको दाबीसहित एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले पक्राउ अनुमतिका लागि सोमबार अदालतमा निवेदन दिए पनि अदालतले अनुसन्धान नै नभई पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको थियो ।
त्यसपछि बुधबार ब्युरोले पोस्ट भएको भनिएको फेसबुक आइडीबारे बयानका लागि बस्नेतलाई बोलाएको थियो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार, बस्नेतले बुधबार बिहानै ब्युरो पुगेर लिखित बयान दिएका छन् । ब्युरो स्रोतका अनुसार, बस्नेतले फेसबुकमा लेखेको पोस्ट पीडित महिलालाई लक्षित नगरेको जिकिर गरेका छन् । तर, फेसबुक आईडी भने आफ्नै भएको उनको स्वीकारोक्ति छ ।