काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताए । यसअघि नै जिल्ला भित्रने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उनले बताए ।
खनालले भने, 'मौसम यथावत् रहेमा बिहान चाँडै सडक सञ्चालनमा ल्याउन सकिने छ । अन्यथा स्थानीय प्रशासनले निर्धारित गरेको होल्डिङ सेन्टरमा नियमानुसार रहनुपर्ने छ । अत्यावश्यक अवस्थामा आएका सवारीसाधनलाई भने रोकिने छैन ।'
बर्सातका कारण रोकिएका सवारीसाधनलाई आज बिहानदेखि आवश्यकताअनुसार गन्तव्यमा पठाइएका र स्थानीय प्रशासनको समन्वयमा आज मात्रै पाँच वटा सवारीसाधनको व्यवस्था गरी विमानस्थलबाट यात्रुलाई काठमाडौं पठाएको थियो ।