मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पहिरो हटाउन चाहिनेभन्दा बढी मेसिन प्रयोग गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बताएका छन् ।
मेसिन अपुग भएर पहिरो पन्छाउन समय लागेको भन्दै आलोचना भएसँगै मन्त्री घिसिङले त्यसको खण्डन गरेका हुन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सडक खण्डमा सुक्खा पहिरो झरिरहने समस्याले पहिरो हटाउन समय लागेको उनले बताए ।
साथै, वर्षातका बेला रातमा काम गर्न नसक्दा समेत समय लागेको उनको भनाइ छ । पानी नपरे आज राति पनि काम गरिने र रातिसम्म पहिरो हटिसक्ने विश्वास लिइएको उनले बताए । मुग्लिन–नारायणगढ सडक खण्डमा अन्तर्गत तुइन खोलामा मङ्गलबार दिउँसो ४ः३० बजे पहिरो खसेपछि विगत दुई दिनदेखि सडक बन्द छ ।