शेयर क्रस होल्डिङ देखिएका एनआइसी एशिया र एनएमबी, हिमालयन र इन्भेष्टमेट, सनराइज र सिद्धार्थ बैंक मर्जरमा जानुको बिकल्प नदेखिएको राष्ट्र बैंकको भनाइ छ ।
केन्द्रीय बैंकले क्रस होल्डिङ भएका अर्थात् एकाघर परिवार तथा संस्थाको लगानी भएका बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्स मर्जर गराउने रणनीतिक योजना बनाएको थियो । त्यसै अनुसार उक्त बैंकलाई पनि फोर्स मर्जरमा लैजाने तयारी गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
‘एउटै समूहबाट जहिले पनि एक भन्दा बढी बैंकमा सञ्चालक हुने तर प्रमाणका आधारमा हेर्यो भने छुटिटएका दाजु, भाइ, छोराको नाममा शेयर भएकाले क्रस होल्डिङ नदेखिएकाले समस्या हुने गरेको थियो,’राष्ट्र बैंकका ती कर्मचारीले भने,‘पछिल्लो समयमा बारम्बार एउटै समूहबाट सञ्चालक हुनेको सुष्म निगरानी गर्दा ६ बैंकमा पटक पटक एउटै समूहका व्यक्ति दुई तिर देखिएकाले त्यस्ता बैंकलाई फोर्स मर्जरमा लैजाने तयारी भएको हो ।’
प्रत्यक्ष रुपमा प्रमाणका आधारमा क्रस होल्डिङ नदेखिने तर अपत्यक्ष रुपमा क्रस होल्डिङ देखिएका एनआइसी एशिया र एनएमबी, हिमालयन र इन्भेष्टमेट, सनराइज र सिद्धार्थ बैंकलाई फोर्स मर्जरमा लैजाने तयारी केन्द्रीय बैंकले गरेको छ ।
राष्ट्र बैंकले पछिल्लो समय ०.५ प्रतिशतदेखि माथिको विवरण माग संकलन गरेको थियो । तर उक्त विवरणमा प्रत्यक्ष रुपमा ०.५ प्रतिशत भन्दा बढी क्रस होल्डिङ शेयर देखिएको थिएनन् । तर अप्रत्यक्ष रुपमा क्रस होल्डिङ शेयर भएका बैंकहरुलाई एउटै समूह वा संस्थाका मानेर त्यस्ता बैंकहरुलाई फोर्स मर्जरमा लैजाने तयारी गरेको हो ।
निजी क्षेत्रका ठुलो व्यवसायी समूह गोल्यानको एनएमबि बैंक र एनआइसी एशिया बैंकमा शेयर स्वामित्व उच्च छ । राष्ट्र बैंकको अध्ययनमा हालसम्म देखिएका ठुलो क्रस होल्डिङ भएको बैंकहरुमध्ये एनआइसी र एनएमबि बैंक अग्र स्थानमा पर्छन् । एनएमबी बैंकको अध्यक्ष रहेका पवन कुमार गोल्यानको नाममा एनआइसी एशिया बैंकमा धेरै कित्ता शेयर नभएपनि उनको परिवारको नाममा शेयर लगानी रहेको
त्यसैगरी, हिमालयन र इन्भेष्टमेन्ट बैंकमा पनि एकै समूहको क्रस होल्डिङ छ । साथै सनराइज र सिद्धार्थमा पनि एउटै समूहको क्रस होल्डिङ छ ।
कानुनी रुपमा छुटिटएका दाई,भाइ एकापरिवारको मानिदैन् । केन्द्रीय बैंकले पनि त्यसरी नै परिवारको नाममा शेयर नभएपनि समूहको नाममा रहेको शेयरलाई पनि अप्रत्यक्ष रुपमा क्रस होल्डिङको आंशका गरेको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुभन्दा अघिबाटै क्रस होल्डिङ भएको अर्थात एकाघर परिवार तथा संस्थाको लगानी भएका बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर गराउने रणनीतिक योजना बनाएको थियो । तर त्यो मौद्रिक नीतिमा समेटन सकेको थिएन ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एकाघर परिवार र संस्थाको क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने उल्लेख गरेको छ । त्यसै अनुसार नै केन्द्रीय बैंकले फोर्स मर्जरमा लैजाने तयारी गरको हो ।
ठूला बैंक गाभिँदा अहिलेसम्मकै ठूलो बैंक बन्ने छ । तर ‘टू बिग टू फेल’ को खतरा पनि हुन सक्ने तर्फ पनि केद्रीय बैंक सचेत रहेको छ ।
मर्जर भाँडिनुका कारण
मर्जरपछि बैंकको नाम के हुने,उच्च पद अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) को बन्ने भन्ने दुई पक्षको जुधाइले नै मर्जर टुट्ने गरेका छन् । मर्जरमा जानुअघि नै बैंकको नाम, अध्यक्ष र सिइओ पद कसको पोल्टामा पार्ने भन्ने कुराले नै प्रथमिकता पाउने र त्यसले बिस्तारै उग्र रुप लिएपछि मर्जर भाँडिने गरेका छन् । राष्ट्र बैंक मर्जर शाखाका एक कर्मचारीले मर्जरपछि बैंकको नेतृत्व कसले लिने भन्नेमै बिबाद हुँदा अधिकांश मर्जर भाँडिने गरेको खुलासा गरे ।
मर्जरको बिषयमा छलफल हुँदा नै बैंकको अध्यक्ष तथा सिइओ कुन पक्षको रहने भन्नेमा बढी ध्यान केन्द्रत हुने र दुवै पक्षले बैंकको उक्त दुई शक्तिशाली पद पाउन तछाडमछाड गर्ने गरेको खुलासा ती कर्मचारीले गरे । बैंकको अध्यक्ष र सिइओ दुवै एकैपक्षमा पार्न हरतरहले कोशिस गर्ने र अन्त्यमा उक्त पद नपाएका कारण भाडिने गरेको उनले बताए ।
बैंक सञ्चालक समितिको उच्च पद भनेकै अध्यक्ष र व्यवस्थापनको नेतृत्व प्रदान गर्ने काम सिइओ भएकाले दुवै पद आकर्षक मानिन्छन् । मर्जरपछि दुई पदमा फरक फरक व्यक्ति आए भने कुरा नमिल्ने हुँदा एउटै पक्षले लिने गरेको बताइन्छ । पछिल्लो समय मर्जरमा जान तयार भएका एक जोडी बैंकहरु पनि अध्यक्ष र सिइओमा कुरा नमिल्दा भाँडिन पुगेको राष्ट्र बैंक ती कर्मचारीले बताए ।
राजनीति दलमा अध्यक्ष र कोषाध्यक्ष एउटै गुटको व्यक्ति ल्याउन कोशिस गरिएजस्तै बैंकमा पनि अध्यक्ष र सिइओ एउटै पक्षको व्यक्ति लिने गरिन्छ । अध्यक्षलाई हरेक तहबाट सहयोग गर्ने काम सिइओले गर्ने र सिइओको पद जोगाउने काम अध्यक्षको हुने भएकाले ती दुई पद नङ र मासुको जस्तै सम्बन्ध हुने गरेको बताइन्छ । स्वाप रेसियो नमिल्दा पनि मर्जर टुट्ने गरेको छ ।
बिग मर्जरलाई बिबाहसँग तुलना
अघिल्लो मौद्रिक नीति सार्वजनिक गर्नु अघि नेपाल राष्ट बैंकका तत्कालिन गर्भनर चिरन्जीवी नेपालले मर्जरलाई बिबाहसँग तुलना गरेका थिए । चुक्ता पुँजी बृद्धि गरेर पनि वाणिज्य बैंकको संख्या नघटेपछि उनले मर्जरलाई बिबाहसँग तुलना गर्न पुगेका थिए । तत्कलिन गभर्नर नेपालले वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब, विकास बैकको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड पुर्याएका थिए ।
अहिले पनि विश्व बैंक, अन्तराष्टिय वित्त निगम जस्ता विदेशी संस्थाले पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन दवाव दिँदै आएका छन् । विदेशी संस्थाहरुको दवाव दिएपछि बैंक तथा वित्तीय संस्था घटाउन केन्द्रीय बैंकले विभिन्न बाहना बनाएर मर्जरमा लैजाने अभियान नै थालेको छ । पछिल्लो पटक क्रस होल्डिङको कार्ड प्याकेको छ । तर यसबाट पनि मर्जरमा जान कति बैंक तथा वित्तीय संस्था सफल हुने हुन त्यो भने हेर्न बाँकी नै छ ।
अहिलेसम्म कति मर्जर भए
केन्द्रीय बैंकका अनुसार, गत असार मसान्तसम्म २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी र ८५ लघुवित्त सञ्चालनमा छन । पछिल्लो समय लघुवित्त पनि मर्जरमा जान थालेका छन् । ती संस्थालाई घटाएर करिब १५ वाणिज्य बैंक,८ देखि १० वटामात्र विकास बैंक र करिब ५ वटामात्रै फाइनान्स कम्पनी रहने बैंकरको भनाइ छ । राष्ट्र बैंकले पनि हाल भइरहेका बैंक, वित्तीय संस्था घटाएर ३० वटाको हाराहारीमा सीमित राख्न चाहेको एक बैंकरले बताए ।
केन्द्रीय बैंकले तीन वर्षअघि ल्याएको मौद्रिक नीतिमार्फत आगामी एक वर्षमा चुक्ता पुँजी वृद्धि गरेर ४ देखि २५ गुणासम्म पुर्याउने प्रस्ताव ल्याउनुको उद्देश्य पनि जसरी भए पनि संख्या घटाउनु नै थियो । संख्यात्मकभन्दा गुणात्मक सेवा प्रदान गर्ने वित्तीय संस्था हेर्न चाहेको राष्ट्र बैंकको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली २०६८ जारी गरेपछि वित्तीय संस्थाहरु गाभिन थालेका हुन् । गाभ्ने र गाभिनेसम्बन्धी विनियमावली आएपछि मर्जरमा जानेको संख्या ह्वात्तै बढेको राष्ट्र बैंकले बताएको छ ।
हालसम्म एक सय ९६ बैंक तथा वित्तीय संस्था गाभिएर ४६ वटामा झरेको राष्ट्र बैंकको भनाइ छ ।
- विष्णु बेल्बासे
- साभार : मेरो लगानि डटकमबाट