भारत र चीनले १० वर्षपछि पुनः लिपुलेक पास हुँदै व्यापार खोल्ने सहमति गरेका छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्रीले भाद्र २ र ३ गते भारत भ्रमण गरेका हुन्।चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस। जयशंकरसँग भएको वार्तामा लिपुलेक, शिपकी ला र नाथु ला पासमार्फत सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको हो ।
विदेश मन्त्रालयद्वारा जारी सहमतिको बुँदा नम्बर ९ मा सीमा व्यापार खोल्ने विषय उल्लेख छ । त्यहाँ भनिएको छ– ‘दुईटै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भए ।’
लिपुलेक नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र पर्छ । नेपाललाई जानकारी नदिई २०१५ मा पनि भारत–चीनबीच यसै नाकाबाट व्यापार गर्ने सहमति भएको थियो, जसप्रति नेपालले कडा आपत्ति जनाएको थियो ।
सन् २०१९ मा भारतले जारी गरेको नक्सामा कालापानी–लिपुलेक क्षेत्रलाई भारतभित्र देखाएपछि विवाद चुलिएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपालले २०७७ जेठमा लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गरेको छ। यसबीच चीनले २०२३ मा जारी गरेको नयाँ नक्सामा समेत लिपुलेक–कालापानी भारततर्फ देखाएको छ ।