बिहीबार , असोज ३ गते २०८१

पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु

पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु

अखबार दैनिक
मंगलबार, भदौ २ २०७७
  • पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु

    कास्की- पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुुरुषमा कोरोनासहित मधुमेह, रक्तचापलगायत रोगको समस्या रहेको बताइन्छ । हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार सङ्क्रमितको मृत्यु भएको छ ।

    त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा गए राति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याले गत साउन ३१ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो । त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएकामा आइसियुमा राखेर उपचार भइरहेको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ