मंगलबार, साउन २२ गते २०८२

३६ घण्टादेखि नारायणगढ-बुटवल सडक अवरुद्ध,सयौं यात्रु अलपत्र

३६ घण्टादेखि नारायणगढ-बुटवल सडक अवरुद्ध,सयौं यात्रु अलपत्र

अखबार दैनिक
मंगलबार, साउन २२ २०८२
  • ३६ घण्टादेखि नारायणगढ-बुटवल सडक अवरुद्ध,सयौं यात्रु अलपत्र

    महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ३६ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । दाउन्ने हुँदै नारायणगढ-बुटवल यात्रामा रहेका कतिपय यात्रुहरू हिँडेर वारपार गरेका छन् । राजमार्ग अवरुद्ध भएको स्थानमा हिँडेर कट्ने र पर पुगेर गाडी चढ्ने यात्रुहरू झरीमा रुझ्दै कष्ट बेहोर्न बाध्य भएका छन् ।

    images

    प्रहरीले दाउन्नेमा लामो जाम नहोस् भनेर ३० किलोमिटर पूर्व कावासोतीमा ठूला गाडी रोकेको छ । नारायणगढ हुँदै बुटवलतर्फ जाने सबैजसो ठूला गाडी कावासोतीमा रोकेका छौं, प्रहरी उपरीक्षक यादव ढकालले भने, वर्षा नरोकिएसम्म दाउन्ने सडक खुलाउने अवस्था छैन । मंगलबार दिउँसोसम्म पनि दाउन्नेमा सामान्य झरी छ ।

    दुम्कीवासदेखि ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिकै सडक भासिएपछि त्यहाँ राजमार्ग अवरुद्ध भएको हो । तीन महिनाअघि त्यहाँ पुल निर्माण गर्न खनिएको खाल्डोको माटो बगेकाले गाडी फसेर समस्या भएको हो । त्यहाँ ठाडो उकालो भएकाले गाडी चिप्लिएर हिँडाउन सकिएको छैन । विश्वकर्मा मन्दिरनजिकै राजमार्गमा पानी हिँडेकाले गाडी हिँडाउन समस्या भएको हो ।

    राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्नेमा काम नगरेका कारण सामान्य वर्षामा समेत राजमार्ग ठप्प हुने गरेको छ । वर्षा रोकिएपछि त्यहाँ ग्राभेल राखेर राजमार्ग खोल्ने प्रयास गरिने प्रहरी उपरीक्षक ढकालले सुनाए । पूर्वी नवलपरासीमा सोमबार बिहान ३ बजेदेखि सामान्य वर्षा भइरहेको छ । वर्षा बिदा नभएसम्म दाउन्ने सडकखण्ड खुल्ने सम्भावना छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ