बिहीबार , असोज ३ गते २०८१

कोरोना संक्रमण रोक्न प्रधानमन्त्री विज्ञसंग छलफलमा

कोरोना संक्रमण रोक्न प्रधानमन्त्री विज्ञसंग छलफलमा

अखबार दैनिक
मंगलबार, साउन २० २०७७
  • कोरोना संक्रमण रोक्न प्रधानमन्त्री विज्ञसंग छलफलमा

    २० साउन, काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अनियन्त्रित शैलीमा फैलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दैछन् । 

    images

    काठमाडौंमा सोमबार सबैभन्दा बढी ६२ तथा केही दिनअघि ५३ जना संक्रमित देखिएपछि काठमाडौं सबैभन्दा ठूलो हटस्पट बन्दै जाने खतरा बनेको छ । त्यस्तै प्रदेश २ मा पनि ठूलो हटस्पट बन्दै गएको छ । 

    केही स्थानीय पालिकाहरुले निषेधाज्ञा जारी गरिरहे पनि समग्र देशमै संक्रमण तीव्र भइरहँदा फेरि लकडाउनको विकल्प नभएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । 

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजे जनस्वास्थ्यविद्हरुलाई बालुवाटार बोलाइएको हो । 

    जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले तीन हप्तासम्म कडा लकडाउन लगाउने हो भने संक्रमितको ७५ प्रतिशत संखया घटाउन सकिने भन्दै तत्काल लकडाउन लगाउनुको विकल्प नभएको बताएका छन् । 

    डा पाण्डेले लकडाउन लामो समय लगाइरहनु भन्दा अहिलेनै लकडाउन गरिहाल्ने र त्यसपछि बिस्तारै कम संक्रमित भएका स्थानमा खोल्दै जाने गर्नुपर्ने बताए । 

    सरकारले चैत ११ गते २ जना संक्रमित भएका बेलामा लकडाउन लगाएको थियो । तर त्यसलाई व्यवस्थित नगर्दा लामो समय लकडाउन भएपछि सर्वसाधारणले तोडेका थिए । 

    विज्ञहरुका कुरा कम सुन्ने र आफ्नो तजबिजीले चल्ने प्रधानमन्त्रीले कस्तो निर्णय गर्लान् ? तर यसपटक उनलाई विज्ञहरुका कुरा नसुनी सु्खै छैन । 

    १८ दिनदेखि कोरोनाको राम्रो स्वाथ्य सेवा तथा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ का अभियन्ता ‘ई’ को स्वास्थ्य समेत गम्भीर बनेको छ ।

    दुई दिनअघि डा पाण्डेले कम्तीमा १५ दिन कडा लकडाउन वा कर्फ्यु लगाउनुको विकल्प नभएको बताएका थिए । 

    उनले सामाजिक संजाल फेसबुकमा यसो लेखेका थिए –

    सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ ।

    संक्रमणको फैलाबटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात सामुदायिक संक्रमणमा प्रवेश गरेको छ । त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसंग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको छ । बिराटनगर, इटहरी, कपिलबस्तु, कैलाली पहाडी जिल्ला बझांग, दैलेख लगायत जिल्लाहरु क्लस्टर अफ केसेसबाट अघिं बढ्दैछन् । 

    इलाम, स्याङ्जा लगायतका जिल्लामा दर्जनौं प्रहरीमा संक्रमण देखिएको छ । संक्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौं उपत्यका लाखौँ व्यक्ति भित्रिएका छन् । ४० लाख स्थिर जनसंख्या रहेको काठमाडौं उपत्यकामा अहिले ६० लाख स्थिर र १० लाख आवतजावत गर्ने जनसंख्या भएको अनुमान गर्न सकिन्छ । अहिले पनि बिभिन्न भित्रि बाटोबाट बिना रोकटोक दैनिक हजारौ व्यक्तिहरु काठमाडौं आइरहेका छन् । काठमाडौंमा संक्रमितको लहरो समाउँदा भारतबाट आएका वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिले संक्रमण बढाएको देखिएको छ । 

    उपचार गर्न, काम गर्न, पढ्न वा अन्य उद्देश्यले काठमाडौं आउनुपर्ने हुन्छ  तर यो विषम परिस्थितिमा काठमाडौं आउने हरेक व्यक्तिको पिसिआर परीक्षण गरेर रिपोर्ट आउने बेलासम्म होल्डिंग सेन्टरमा राखेर प्रवेश गर्न अनुमति दिने, लुकेर आउने बाटोमा आवतजावत प्रतिबन्ध लगाउने तथा गम्भीर बिरामीलाई सिधै अस्पताल पुर्याउने ब्यबस्था गरेको भए यो परिस्थिति आउने थिएन  ।

    अबको बाटो के त ?
    काठमाडौं उपत्याका, काठमाडौं आउने बाटोका क्षेत्र, भारतसंग सिमाना जोडिएका जिल्लाहरु तथा संक्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कर्फ्यु लगाउनु जरुरी छ । 

    पुरानो मोडेलको लकडाउनले अहिलेको स्थितिलाई धान्न सक्दैन । १५ दिन कर्फ्यु लगाउँदा आवतजावत बन्द हुन्छ, संक्रमित या निको हुन्छन् या अस्पताल जान्छन् तर स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् । यो १५ दिनको कर्फ्युले हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्छ ।

    कर्फ्युको अवधिमा सरकारले माथि उल्लेखित क्षेत्रमा ब्यापक परीक्षण बढाएर नेपाललाई रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने, सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मी र सिमाबासीको २४सै घण्टा गस्ती बढाउने, सिमानाका अबैध बाटा बन्द गर्ने, आवतजावतको मोडेल तयार गर्ने, संक्रमित क्षेत्रमा सुरक्षित आइसोलेसन सेन्टरको प्रबन्ध गर्ने, हरेक अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक उपचार, आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड तथा जनशक्तिलाई तालिम (आइसीयु र भेन्टिलेटर अपरेट गर्न) दिने,  कर्फ्युको समयमा निम्न आय भएका व्यक्तिलाई राहत र अन्य व्यक्तिलाई राज्यले दिनुपर्ने सहुलियत दिने गर्नुपर्छ । 

    यो १५ दिनपछि आवतजावतमा कडाइ गर्ने, मास्क नलगाउने वा सहि तरिकाले नलगाउनेलाई ५ हजारको जरिवाना गर्ने, ५ जनाभन्दा धेरै ब्यक्ति संगै हिंडेमा, भीडभाड गरेमा तथा भोजभतेर गरेमा ५००० जरिवानाको ब्यबस्था गर्ने, सरकारी तथा निजि प्रयोगशालामार्फत दिनमा ३० हजार व्यक्तिको परीक्षण गरिरहने र जनस्वास्थ्य चेतनाका प्रभावकारी कदम अबलम्बन गरेमा हामी कोरोना भाइरसको भिक्टिम हुनुपर्दैन । 

    यदि हामीले गम्भीर भएर कडा लकडाउन वा कर्फ्यु १५ दिन सहन सक्यौं भने हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्न सक्छौं र आगामी दिनमा आवातजावत तथा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्यौं भने हामी कोरोना संक्रमणको चपेटाबाट मुक्त हुने बाटोमा अग्रसर हुनेछौं । हामीले बिर्सिनु हुँदैन कि बिकसित देशले समेत संक्रमणको छाल नियन्त्रण गर्न नसकेको अवस्थामा हाम्रो जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशले सामुदायिक संक्रमण थेग्न सक्दैन । 

    हामी सबै गम्भीर भएर कोरोना संक्रमण नियन्त्रण गर्न एकजुट हुनुको बिकल्प छैन । 

    साभार:हाम्रो कुराबाट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ