पोखरा क्षेत्रीय विमानस्थलको ६२ प्रतिशत काम पुरा भएको छ । चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्ट २०१७ बाट निर्माण कार्य सुरु गरेको विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको हो ।
विमानस्थलमा हाल १४ वटा भवन बनिरहेको छ । ति भवनको स्टकचरको काम सबै सम्पन्न भइसकेको छ भने फिनिसिङको काम भने बाँकी रहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थलको ट्याक्सी पार्क, ह्याङगर, राजमार्ग देखि ट्रमिनल भवनसम्मको पहुँच मार्ग,धवान मार्ग लगायतको काम सकिएको उहाँले जानकारी दिनुभयो । २२ अर्ब लगानीमा बन्न लागेको विमानस्थल सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप तिब्र गतिमा काम भइरहेको बताउनुभयो ।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा हाल नेपाली कामदारको संख्या एक सय रहेको छ भने चाइनाका २ सय ४४ कामदार खटिएका छन् । कोरोना महामारीका कारण विमानस्थलको निर्माण कार्यमा केहीँ असर परेको छ । “लकडाउन अघि चाइनिज कामदारहरु चाइना गएका कारण उनीहरु बन्दाबन्दीको समस्याले आउन पाएनन् । चिनमा लकडाउनको सहज अवस्था भएपछि मार्च महिनामा मात्र १ सय ७ जना कामदारलाई ल्याइयो । विमानस्थलको काम हुँदैगर्दा कोरोना भाइरसको त्रासका कारण नेपालमा विमानस्थल र नाकाहरु बन्द भए । जसले गर्दा आवश्यक सामानहरु ल्याउन कठिनाई भयो । अहिँलेमा भने विभिन्न नाकाहरुमा रोकिएको सामान समेत आएको छ । लकडाउनको अन्त्य भएपनि विमानस्थल निर्माणमा भने प्रभाव परेको छ । निर्माण सामाग्री चलाउने कामदारको अभाव हुँदा भनेजस्तो गतिमा काम हुन नसकेको मुनकर्मीले बताउनुभयो । चाइनाबाट कुनै पनि सामान पोखरा ल्याउँदा दुई महिना लाग्नेहुँदा समस्या भइरहेको छ ।
शुक्रबार गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्माणाधिन विमानस्थलको स्थलगत निरिक्षण गर्नुभएको थियो । लक डाउनले निर्माणाधिन विमानस्थलमा पारेको प्रभावका बारे बुझ्न विमानस्थल पुग्नुभएका मन्त्री लम्सालले महामारीको समयमा समेत विमानस्थलको काम तिब्र गतिमा भएको भन्दै सन्तोष व्यक्त गर्नुभयो । उहाँले विमानस्थल निर्माणको क्रममा कुनै समस्या परे प्रदेश सरकार नजिकै रहेकाले ढुक्क सँग काम गर्न आग्रह गर्नुभयो ।