पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा परिसरमा वृक्षरोपण गरिएको छ । वातावरण संरक्षण गर्ने हेतुले महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आयोजना गरेको कार्यक्रममा पारिजात, कल्की, कपुर, गोदावरी, धुपी लगायत विभिन्न प्रजातिका एक सय ५० वटा बिरुवा रोपिएको समितिका सचिव प्रेम तिमिल्सिनाले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा पनि लुकेर रहेका पर्यटकीय आकर्षणलाई विश्व बजारमा पुयाउनु पर्नेमा जोड दिए । उनले विश्व वजारसँग प्रतिस्पर्धा गर्ने खालको पर्यटन विकासमा सरकार केन्द्रित रहेको बताउँदै व्यवस्थित विकासवाट मात्रै समृद्धि हासिल गर्न सकिने सुनाए ।
कोरोनाका कारण प्रभावित भएका व्यवसायलाई माथि उकास्न सरकारले विशेष पहल गर्ने बताउदै मन्त्री लम्सालले भने, ‘कोरोनाले थिलो परेको पर्यटन व्यवसाय अब छिट्टै उकासिन्छ ।
प्रदेश सभाका सदस्य कृष्ण थापाले विकासका नाममा राजनिती गर्नु गलत हुने बताउँदै, सवैको प्रयासबाट मात्रै समृदि हासिल हुने बताए । सासंद विन्दुकुमार थापाले कोरोनाका कारण सवै क्षेत्र संकटमा परेको वताउँदै आर्थिक राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिए । अर्का सांसद प्रभा कोइरालाले पोखरामा रहेका पर्यटकीय क्षेत्रलाई सर्किटका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।
समितिमा अध्यक्ष गुरुदत्त भटराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, विन्ध्यवासिनी मावि बाटुलेचौरका अध्यक्ष चन्द्रा थापा, समितिका सदस्य केशव बस्नेत, पत्रकार शिशिर पौडेल लगायतले पोखरा भित्रिने पर्यटक एकै ठाउँमा केन्द्रित हुँदा आसपासका अन्य पर्यटकीय क्षेत्र ओझेलमा परेको भन्दै गुनासो गरे । महेन्द्र गुफाभित्र हालै प्रदेश सरकारको सहयोगमा ४८ लाखको लागतमा बाल उद्यान पार्क निर्माण भएको छ ।
कोरोना संक्रमणका कारण महेन्द्र गुफा र चमेरे गुफा चैतको पहिलो सातादेखि बन्द छ । बन्दको ४ महिनामा मात्रै अघिल्लो आवमा भन्दा १ करोड ७४ लाख रुपैयाँ आम्दानी कम भएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ । कोरोनाका कारण त्यस क्षेत्रको पर्यटन केन्द्रित व्यवसाय पनि ठप्प बनेको छ ।