,पोखरा
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷२०७७ मा कुल बजेटको ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फको कुल बजेट १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार मध्ये ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ रुपैँया खर्च भएको छ, भने पुँजीगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेट मध्ये १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार ९ सय ५६ रुपैयाँ खर्च भएको देखिन्छ । कुल बजेटको पुजीँगत तर्फ ७०.४६ र चालु तर्फ ५२.८० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले ल्याएको कुल बजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेटमध्ये ६३.७१ प्रतिशत खर्च भएको हो । लकडाउन अर्थात बन्दाबन्दीका कारण कम खर्च हुने देखिएको प्रदेश सरकारको बजेट लकडाउन खुकुलो अर्थात परिस्थिती सहज बन्दै गएपछि जेष्ठ र असारको महिना धमाधम बजेट निकासा बढेपछि प्रदेश सरकारको बजेट खर्च बढेको थियो ।
गण्डकी प्रदेशमा रहेका सात मन्त्रालयमध्ये मन्त्रालयगत रूपमा विनियोजन भएको पुँजीगत रकम खर्च बढी गर्नेमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय रहेको छ । उक्त मन्त्रालयको चालु तर्फ १ अर्ब २९ करोड ९५ लाख ४८ हजार र पुँजीगत तर्फ ७३ करोड १८ लाख ५९ हजार गरि २ अर्ब ३ करोड १४ लाख ७ हजार बजेट विनियोजन भएकोमा पुँजीगत तर्फ ५७ करोड ७२ लाख २४ हजार ५ सय ८७ अर्थात ७८.८७ प्रतिशत खर्च भएको छ । उक्त मन्त्रालयले चालु तर्फ ६३ करोड २० लाख ७० हजार ५ सय ३ अर्थात ४८.६४ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
पूजीँगत बजेट सबै भन्दा कम खर्च गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको छ जसले पुँजीगत तर्फ विनियोजित २१ करोड ४७ लाख बजेट मध्ये १२ करोड १६ लाख ७० हजार ६ सय ४३ अर्थात ५६.६७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । यस मन्त्रालयको चालु तर्फ ३७ करोड ९२ लाख ३६ हजार रकम मध्ये ७ करोड ९२ लाख ८ हजार ३८ रुपैँया अर्थात २०.८९ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयको पुँजीगत तर्फ ११ अर्ब ७२ करोड ४२ लाख ८३ हजार ४ सय २ रुपैँया अर्थात ७७.५९ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयमा पूँजीगत तर्फ १५ अर्ब ११ करोड ५१ लाख ५ हजार बजेट रहेको थियो । चालु तर्फ ८४ करोड ४९ हजार रकम मध्ये ३२ करोड ७५ लाख ६० हजार ९ सय ६७ रुपैँया अर्थात ३८.९९ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।
सामाजिक विकास मन्त्रालयले पुँजीगत तर्फ ६३ करोड ६९ लाख ५४ हजार १ सय ४० अर्थात ७६.२३ प्रतिशत बजेट खर्च भएको छ । यस मन्त्रालयको पूँजीगत बजेट ८३ करोड ५६ लाख १७ हजार रहेको थियो । यस मन्त्रालयले चालु तर्फ ७१.८८ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पूँजीगत तर्फ ६४ करोड ५३ लाख ६९ हजार ४ सय ६१ अर्थात ७४.०७ प्रतिशत बजेट र चालु तर्फ २१ करोड १० लाख ८७ हजार ३ सय २९ रुपैँया अर्थात ४६.२४ प्रतिशत बजेट खर्च भएको छ ।
त्यस्तै आर्थीक मामिला तथा योजना मन्त्रालयको पूँजीगत तर्फ ६३.८४ र चालुतर्फ ३०.९५ प्रतिशत बजेट खर्च भएको छ भने कृषि,भुमी व्यवस्था तथा सहकारी मन्त्रालयको पूँजीगत तर्फ ५९.२५ र चालु तर्फ ६७.७७ प्रतिशत बजेट खर्च भएको छ ।
यसै बिच गण्डकी प्रदेश सभाको पूँजीगत बजेट ९५.९२ प्रतिशत खर्च भएको छ । यसको पूँजीगत तर्फ २ करोड ९० लाख ३५ हजार ३ सय ८२ रहेको थियो । चालु तर्फ ११ करोड २६ लाख २९ हजार रकम मध्ये १० करोड ८४ लाख ८० हजार १ सय ५९ रुपैँया अर्थात ९६.३२ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश निति तथा योजना आयोग पूँजीगत तर्फ ८९.९८ प्रतिशत र चालु तर्फ ६३.५९ प्रतिशत बजेट खर्च भएको छ ।