काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एक करोड रुपैयाँसम्म ऋण लिँदा उद्यमीले दुःख पाएको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सोमबार (जेठ १९) उनले त्यस्ता ऋणीलाई बैंकले दुःख दिने गरेको जिकिर गरे । यसतर्फ नेपाल राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्नेमा उनले जोड दिए ।
साना, मझौला उद्योग चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान नसक्ने उनले बताए । सहज रूपमा ऋण लिने वातावरण हुनुपर्ने उनले उल्लेख गरे ।
“एक करोडसम्म ऋण लिने उद्यमीले अहिले पनि सहजै ऋण लिन पाइरहेका छैनन् । राष्ट्र बैंक गम्भीर होस्,” उनले भने, “उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।”
कार्कीले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) जनता लाभान्वित हुने गरी छिटो पारित गरिनुपर्ने बताए ।बैंकर र व्यापारीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल