बिहीबार , असोज ३ गते २०८१

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

अखबार दैनिक
शुक्रबार, असार २६ २०७७
  • नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

    काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।

    images

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

     


    पूर्वयोजनाअनुसार नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यक्रम थियो । बैठकमा ओली इतर समूहले फेरि पनि प्रधानमन्त्रीको राजीनामाको कुरा उठाउने तयारी गरेको थियो ।

    नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतिको लागि भनेर बैठक स्थगित गरिए पनि सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।

    प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने अडान लिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद छोड्नु पर्ने भनेर दबाव दिँदै आएको छ ।

    कोरोनाको महामारी, बाढी पहिरोको बितण्डाको बेला नेकपा नेताहरु सत्ताको खेलमा लागेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ