काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले ४ दिन लामो ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।
बिहीबार आफ्नो सामजिक सञ्जालमार्फत जनकपुरले ट्रफी परेडबारे जानकारी दिएको हो । शुक्रबारदेखि सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । दोस्रो दिन शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिनेछ ।
चौथो दिन सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ । गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले ट्रफी उचालेको थियो ।