काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने ती नेताले बताए । बैठक भर्चुअल माध्यमबाट बस्ने छ ।
‘आज दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको छ,’ ती नेताले भने, ‘हामी भर्चुअल माध्यमबाट बैठकमा जुट्छौं ।’ ती नेतका अनुसार कार्यबाहक सभापतिमा डोलप्रसाद अर्यालकै सम्भावना छ ।
‘पहिल्यै केन्द्रीय समितिबाटै निर्णय भइसकेको हो । आज त्यसलाई औपचारिकता दिनुपर्छ कि भनेर छलफल गर्दैछौं ।’ यद्यपि पार्टीले निर्णय नलिइ त्यसबारे केही भन्न नसकिने ती नेता बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बनमा पर्ने भएको छ ।