काठमाडौँ । सभामुख र राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आज आयोजना गरिएको छ। १८औँ संसद् सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए।
सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरिएको बताए। उनले संसद् सेवा दिवसमा सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखले विभिन्न कार्यक्रम गरी मनाइरहेकामा आज फुटसलको आयोजना गरिएको बताए। उनले प्रतियोगिताले संसद्समेत खेलकुद क्षेत्रको विकासमा सधैँ तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गरे।
राष्ट्रियसभा अध्यक्ष दाहालले युवाहरूलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरूरी रहेको बताए।