काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न कर्णाली याक्सको दुई विदेशी खेलाडी चाडविक वाल्टन र बाबर हायात नेपाल आइपुगेका छन् ।
वेस्ट इन्डिजका वाल्टन र हङकङका हायात मंगलबार काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । वाल्टनले यसअघि पनि नेपालमा आएर टी२० क्रिकेट खेलिसकेका छन् ।
त्यस्तै बाबर हायातले पनि नेपाल आएर नेपाली लिगहरू पनि खेलिसकेका छन् ।ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।
कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । त्यस्तै ओमानका पूर्व कप्तान जीशान मक्सूद पनि टोलीमा छन् । एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।