बिहीबार , असोज ३ गते २०८१

नयाँ पत्रिकामा प्रकाशित श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो समचार प्रति सेनाको ध्यानाकर्षण

नयाँ पत्रिकामा प्रकाशित श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो समचार प्रति सेनाको ध्यानाकर्षण

सैनिक पोशाकमा रहेका व्यक्तिहरुलाई मात्र चेक जाँच सुरु गरेको सेनाको भनाई

images
अखबार दैनिक
मंगलबार, जेठ ६ २०७७
  • नयाँ पत्रिकामा प्रकाशित श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो समचार प्रति सेनाको ध्यानाकर्षण

    मिति २०७7 जेष्ठ 5 गते सोमवार नयाँ पत्रिका राष्ट्रिय दैनिकमा विनोद विष्टद्बारा लिखित "अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर राजधानीको सडकमा सेना : श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो" शिर्षकमा प्रकाशित समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    images

    मुलुकमा आइपर्ने कुनै पनि प्राकृतिक तथा मानव सिर्जित प्रकोपको सामना गर्ने क्रममा नेपाली सेनाले आफ्नो जीवनलाई खतरामा राखेर तथा कतिपय अवस्थामा जीवन नै गुमाएर पनि आम जनताको रक्षा गर्दै आइरहेको छ । विनाशकारी भूकम्प, विभिन्न ठाउँमा हुने बाढिपहिरो तथा आगलागी, गत वर्ष तराईमा आएको विनाशकारी आँधी तथा हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ विरुद्धको लडाइमा पनि नेपाली सेना अग्र पंक्तिमा रहेर काम गरिरहेको कुरालाई वेवास्ता गर्दै हालको सम्वेदनशील घडिमा देश र जनता प्रति वफादार रहि नेपालको संवैधानिक व्यवस्था र अन्तर्गत निर्माण भएका ऐन कानून बमोजिम अहोरात्र खट्टिरहेको राष्ट्रिय सेनाको छवि धमिल्याउने, सैनिक व्यक्तिहरुको मनोबल कमजोर तुल्याई सिंगो संगठनको बदनाम गराउने गरी वास्तविकतालाई तोडमोड गरी अतिरञ्जित तरिकाबाट पूर्वाग्रही ढंगबाट प्रस्तुत गरिएको कुत्सित नियतका दुश्‍प्रचार प्रकाशित गरिएको सामग्रीप्रति नेपाली सेना खेद प्रकट गर्दछ । साथै यस प्रकारको भ्रामक समाचारको भ्रममा नपर्न जंगी अड्डा सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछ ।

    विश्वका सबै सेनाहरुमा सैनिक अनुशासन र आचरण कायम राख्नको लागि विशेष अख्तियारी प्राप्त सैनिक प्रहरीको व्यवस्था गरिएको हुन्छ भने नेपाली सेनामा पनि सैनिक ऐन लागु हुने व्यक्तिहरुद्बारा सैनिक अनुशासन, पोशाक तथा अन्य निर्देशन पालना भए नभएको एकिन गर्ने र आवश्यकता अनुसार व्यारेक बाहिर पनि सैनिक व्यक्तिहरुको परिचय पत्र लगायत आवश्यक विवरण चेकजाँच गर्न सक्ने प्रावधान सैनिक ऐन 2063 को दफा 78 मा उल्लेख भए बमोजिम सैनिक प्रहरी (Military Police) को व्यवस्था गरिएको छ । कोभिड-19 संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्बारा जारी गरिएको निर्देशन बमोजिम हाल नेपाली सेनाका सम्पूर्ण युनिटहरु पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको, विदा छुट्टि बन्द गरिएको, कम जनशक्तिहरुद्बारा कार्यालय सञ्चालन गर्दै आईरहेको, कोभिड-19 प्रतिकार्यमा नेपाली सेनाका सकलदर्जाहरु प्रत्यक्ष रुपमा परिचालित भइरहेको अवस्थामा सैनिक व्यक्ति तथा गैर सैनिक व्यक्तिहरुले समेत सैनिक पोशाकको दुरुपयोग गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल सरकारको लकडाउनको नीतिलाई सहयोग पूर्‍याई फैलिन सक्ने संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ बहालवाला तथा पूर्व सैनिकहरुको हिडडुलको अनुगमन गर्न मिति 2077 जेष्ठ 4 गते उपत्यका भित्रका नारायणगोपालचोक, नयां बानेश्वर, थापाथली र कालीमाटी ईलाकाहरुमा ट्राफिक प्रहरीसंग समन्वय गरी सैनिक प्रहरीद्बारा चेक प्वाईन्ट संचालन गरिएको थियो । सोहि चेकजाँचको क्रममा हिजो मिति 2077 जेष्ठ 04 गते दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका नेपाली सेनाका भगौडा सैनिक शुशिल खड्काले अनाधिकृत रुपमा सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी रहेको अवस्थामा फेलापरेको र निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी सैनिक ऐन अनुरुप आवश्यक कारवाही अघि बढाएको व्यहोरा जनसम्पर्क तथा सूचना निर्देशनालयबाट प्रेश विज्ञप्ती मार्फत जानकारी गराई सकिएको छ ।

    सैनिक पोशाक प्रयोग सम्बन्धी नेपाल सरकार गृह मन्त्रालयले मिति 2076 श्रावण 13 गते सर्वसाधारणको लागि परिपत्र समेत जारी गरी अनाधिकृत रुपमा सैनिक पोशाकको विक्रिवितरण तथा प्रयोग नगर्न आव्हान गरेको विदितै छ । सोहि अनुरुप मिति 2077 जेष्ठ 04 गते कालिमाटी ईलाकामा सैनिक प्रहरीले सञ्चालन गरेको चेकप्वाईन्ट हुदै एक जना व्यक्तिले नेपाली सेनाको सैनिक पोशाकको माथीको कम्व्याट लगाई हिडिरहेको अवस्थामा फेला पारेको थियो । अर्ध सैनिक पोशाकमा हिडडुल गरिरहेका व्यक्तिलाई सोधपुछ गर्दा सैनिक पोशाकको प्रयोग सम्बन्धी आफु जानकार नभएको र Blood Bankजान लागेको बताउनु भएको थियो ।

    सैनिक प्रहरीको चेकजाँच टोलीले नजिकै रहेको प्रहरी चौकिमा जान आग्रह गर्दा निज व्यक्तिले प्रहरी चौकी जानुको सट्टा बरु यहि सैनिक पोशाक खोलेर अस्पताल जान्छु भनि अनुरोध गरेकोले सैनिक पोशाक खोलेर त्यहाबाट हिड्नु भएको थियो र चेकजाँचमा संलग्न सैनिक प्रहरीका जवानहरुले कुनै किसिमको जवरजस्ती तथा अमानवीय व्यवहार नगरेको । नेपाली सेनाले कुनै व्यक्तिगत वा संस्थागत स्वार्थका लागि नभई सैनिक पोशाकको दुरुपयोग हुँदा संकटको यस घडीमा कोरानाको संक्रमण थप बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै सो को अनाधिकृत प्रयोग हुनबाट रोक्नको लागी नेपाल प्रहरीसंग समन्वय गरी बहालवाला तथा पूर्व सैनिकहरुको हिडडुलको अनुगमन गर्न सैनिक पोशाकमा रहेका व्यक्तिहरुलाई मात्र चेक जाँच सुरु गरेको वास्तविकतालाई सम्पूर्ण पाठक वर्गमा जानकारी गराउन चाहान्छौ ।

    समाजको ऐना भनिने पत्रकारिताका मार्फत वास्तविकतालाई तोडमोड गरी समाजमा कलह, विग्रह र आक्रोश उत्पन्न गराउने प्रयत्न गर्नु पत्रकारिताको विश्वसनियता माथि नै प्रश्न उठाउनु हो । पत्रकारितामा महत्वपूर्ण मानिने दोहोरो परीक्षणको सिद्धान्तलाई समेत वेवास्ता गर्दै एक तर्फिरुपमा प्रस्तुत गरिएको सामग्रीले पनि समाचारको नियतलाई पुष्टि गर्ने काम गरेको छ । तसर्थ आगामी दिनहरुमा यस प्रकारका सम्वेदनशील विषयहरुमा सत्यतथ्य एकिन गरेर मात्र समाचार सम्प्रेषण गर्नु हुने छ भन्ने विश्वास व्यक्त गर्दै कोभिड-19 संक्रमण रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका दौरान आईपर्ने संकटमा जनता र राष्ट्रका हितका लागि निर्भिकताका साथ आफ्नो दायित्व र भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको व्यहोरा नेपाली सेना सम्पूर्ण पाठकवर्गमा हार्दिक अनुरोध गर्दछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ