काठमाडौं । गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावितको लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका हुन् ।
असोज ११ र १२ गते परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी, पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले बेपत्ताको खोजी, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
विपद्का कारण काठमाडौं उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले विपत्तिको सामना सबै मिलेर गर्नुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको बताए ।