मंगलबार, जेठ ८ गते २०८१

कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

अखबार दैनिक
बुधबार, वैशाख ३१ २०७७
  • कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

    काठमाडौं- बुधबार दिउँसो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षणका लागि  बाक्लो भीड थियो। भीडलाई व्यवस्थापन गर्न अस्पतालले दुई वटा लाईन बनाएपनि त्यो लाईन अस्पताल प्रवेश गर्ने गेटसम्म पुगेको थियो। 

    images

    बिहान ९ बजेदेखि सुरु हुने भीड दिउँसो ३ नबजेसम्म कम हुँदैन। परीक्षणका लागि जानेमध्ये अधिकांश बाहिर जिल्लाबाट काठमाडौं छिरेकाहरु छन्। घरबेटीको दबाबले उनीहरु कोरोना भए÷नभएको परीक्षण गराउन अस्पताल पुग्ने गरेका छन्। 

    त्यही भीडमध्येकी एक थिइन्, धादिङकी शर्मिला श्रेष्ठ। उनको साथमा ४ वर्षका छोरा पनि थियो। उनी बसन्तपुरमा बस्छिन्। बुधबार मात्रै उनी धादिङबाट काठमाडौं छिरेकी रहेछिन्। घरबेटीले कोरोना परीक्षण नगरी बस्न नदिने बताएपछि उनी टेकु आएकी हुन्। 

    उनले भनिन्, ‘म हिडेरै धादिङबाट काठमाडौं आएकी हुँ। धादिङबाट कतै गइन्। तर घरबेटीले जसरी पनि कोरोना परीक्षण गराउनु भनेर टेकु अस्पताल आएको हुँ।’ 

    रामेछापकी एक महिला पनि त्यही भीड भेटिइन्। उनी पनि मंगलबार मात्र काठमाडौं आएकी हुन्। उनी मधुमेहकी बिरामी हुन्। रामेछापमा आफूले खाँदै गरेको औषधि नभेटिएपछि औषधि किन्नका लागि काठमाडौं आएको उनले बताइन्। काठमाडौं आउन कुनै सवारी साधन नभेटिएपछि उनी एम्बुलेन्समा काठमाडौं आएकी हुन्। 

    ‘औषधि लिन मात्र काठमाडौं आएको थिएँ। छोरा यही लगनखेलमै बस्छ,’ उनले भनिन्, ‘तर म आउने बित्तिकै सबैले घेर्न पो आए। टेकु अस्पताल जानु नत्र बस्न पाउनु हुन्न भनेर मलाई सबैले कराए। अनि म टेकु अस्पताल आएको हुँ।’

    81D71C7A-18B5-4267-925E-5F305767667A.jpeg

    चिकित्सकले जोखिमको आधारमा मात्र मानिसहरुको कोरोनाको परीक्षण गरिरहेको छन्। तर अस्पताल पुग्ने सबैले कोरोना परीक्षण गर्नुपर्ने बताइरहेका छन्।

    त्यही भीडमा एक महिला भने आक्रोश व्यक्त गरेको अवस्थामा भेटिइन्। उनले भनिन्, ‘वडा कार्यालय र घरबेटीले जसरी पनि कोरोना परीक्षण गरेर मात्र आउनु भनेका छन्। बस्नै दिएका छैनन्। तर डाक्टरले ज्वरो मात्र नापेर अरु पर्दैन भन्यो।’ 

    उनी मंगलबार हेटौंडाबाट काठमाडौं आएकी हुन्। घरबेटीको दबाबले कोरोना परीक्षण गर्न पुग्ने मध्ये उनी पनि एक थिइन्। तर चिकित्सकले जोखिममा नपरेको भन्दै उनको कोरोना परीक्षण गरेनन्।

    ‘अब घरबेटीलाई लगेर के देखाउनु?’ उनले अस्पतालको टिकट देखाउँदै भनिन्, ‘अब त डाक्टरले तपाईंको कोरोना परीक्षण गर्नु पर्दैन। तपाई जोखिममा पर्नु हुन्न भनेर लेखेको छ। यही नै देखाउँछु।’

    अस्पताल आउने सबै जनाको कोरोना परीक्षण गर्न आवश्यक नरहेको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले बताए। कोरोना परीक्षणका लागि आउनेमध्ये अधिकांश बाहिरी जिल्लाका रहेको उनले बताए। धेरैजसो जनकपुर, सप्तरी, धादिङ, काभ्रे लगायत जिल्लाका छन्। 

     

    कोरोना परीक्षण गर्न आउनेको संख्या बढ्दै गएको उनले जानकारी दिए। मंगलबारको तुलनामा बुधबार कोरोना परीक्षणका लागि अस्पताल आउनेको संख्यामा पनि वृद्धि भएको उनले बताए। 

    कोरोना परीक्षणका लागि मंगलबारसम्म दैनिक २ सयको हाराहारीमा अस्पताल पुग्ने गर्थे। यो संख्या बुधबार दोब्बरले बढ्दै करीब ५ सय ३० पुगेको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए। जसमध्ये करीब ३ सय जनाको पिसिआरबाट परीक्षण गरिएको उनले बताए। 

    अस्पताल पुग्ने सबैको कोरोना परीक्षण गर्न आवश्यक नरहेको उनले बताए। शंकास्पद बिरामी, कोरोना संक्रमित भेटिएका जिल्लाबाट फर्किएका व्यक्ति, लक्षण भएकाको मात्र कोरोना परीक्षण गर्ने गरिएको उनले बताए। 

     

    उनले भने, ‘सबै जनाको कोरोना परीक्षण हुँदैन। जहाँ कोरोना देखिएकै छैन। त्यहाँबाट फर्किएकाहरुको परीक्षण गर्न आवश्यक छैन। शंकास्पद, लक्षण देखिएका र आउटब्रेक भएको जिल्लाबाट फर्किएकाहरुको परीक्षण गर्नैपर्छ। हामी सरकारले गाइडलाइन अनुसार जाँच गर्छौं।’

    अन्यलाई भने अस्पतालले ‘कोरोना परीक्षणको आवश्यक छैन’ भनेर लेखेर पठाउनले गरिएको उनले जानकारी दिए।

    कोरोनाको डर, त्रास र भ्रमका कारण पनि अस्पताल आउनेको व्यक्तिको संख्या बढ्दै गएको उनको भनाई छ। परीक्षणका लागि एकै पटक धेरै जना आएकाले व्यवस्थापन गर्न समस्या भएको अस्पतालले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार