चैत ५ काठमाडौँ । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा पनि मृत अवस्थामा भेटिएका छन । विराटनगरका युवा शिवशंकर दास विराटनगरको फाइन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिएका छन । गत शुक्रबार विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको थियो ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेर हत्या गरीएको आंशका गरीएको थियो । उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको र संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताउँदै आएको थियो ।
प्रहरीले दासको प्रेमी रहेका शिव शङ्करले नै हत्या गरेको हुनसक्ने आशङ्का गरेको थियो । उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।