बिहीबार , वैशाख २७ गते २०८१

विवादमा इन्द्रेणीका कृष्ण कँडेल, ‘कुटपिट गरेर कलाकार निकालेको’ आरोप

विवादमा इन्द्रेणीका कृष्ण कँडेल, ‘कुटपिट गरेर कलाकार निकालेको’ आरोप

अखबार दैनिक
शुक्रबार, फागुन ४ २०८०
  • विवादमा इन्द्रेणीका कृष्ण कँडेल, ‘कुटपिट गरेर कलाकार निकालेको’ आरोप

    काठमाडौं । इन्द्रेणीका पाँच कलाकारले सञ्चालक कृष्ण कँडेलले आफूहरूलाई  कुटपिट गर्दै अपमानजनक ढंगले जागिरबाट निकालेको गुनासो गरेका छन् । यस्तो गुनासो गर्नेमा कँडेलको परिवारभित्रकै सदस्यसमेत छन् ।

    images

    विगत १२ वर्षदेखि इन्द्रेणीमा कार्यरत कलाकारले फेसबुक लाइभमा आएर अपमानजनक ढंगले इन्द्रेणी व्यवस्थापनले त्यहाँबाट बहिर्गमन गराएको गुनासो गरेका हुन् ।

    जागिरबाट निकालिएको गुनासो गर्नेहरूमा खगेन्द्र विश्वकर्मा, शर्मिला श्रेष्ठ, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे नाताले कृष्णका क्रमशः भाइ र साला पर्ने हुन् ।

    गायिका शर्मिला श्रेष्ठले लामो समयदेखि त्यहाँ कार्यरत आफूलगायत कलाकारलाई अपमानजनक ढंगले हटाइएको गुनासो गरिन् । सुरुमा सबै कलाकारलाई बिदा गर्ने भनी हस्ताक्षर गराइए पनि अन्तिममा आफूलगायत केही व्यक्तिलाई मात्र त्यहाँबाट हटाइएको उनको जिकिर छ ।

    इन्द्रेणी कार्यक्रमका लागि आफ्नो सम्पूर्ण समय सुम्पिए पनि अन्तिममा व्यवस्थापनले धोका दिएको उनले बताइन् ।

    कृष्ण कँडेलबाट कलाकारमाथि विगतदेखि नै ज्यादति हुँदै आएको दाबी पनि उनले गरेकी छन् । कृष्ण कँडेलले भनेको कुरा पूरा गर्न तयार नहुँदा विगत तीन वर्षदेखि आफूलाई दपेटेको उनले आरोप लगाइन् । तर त्यो के थियो भन्नेबारे चाहिँ उनले केही खुलाइनन् । ‘समय आएपछि यी सबै कुरा सार्वजनिक गर्नेछु,’ उनले भनिन् ।

    इन्द्रेणीले कलाकारमाथि ज्यादति गरे पनि अहिलेसम्म कसैले नबोलेको तर आफूले मुख खोलेको उनले बताइन् । यसअघि इन्द्रेणीबाट टीका सानु, मीना लामालगायत कैयन् कलाकार बाहिरिएका थिए । तर उनीहरूले आफ्नो बहिर्गमनबारे औपचारिक रूपमा मुख खोलेका छैनन् । शर्मिला सञ्चालक कृष्ण कँडेलको अपमान सहन नसकेरै यी सबै कलाकार बाहिरिएको दाबी गर्छिन् ।

    आफू अन्यायमा परेका बेला इन्द्रेणीमा कार्यरत अन्य कलाकारले पनि आफूलाई अपमान गरेको उनले बताइन् । उनीहरूले साथ दिनुको साटो उल्टो बोल्नसमेत कन्जुस्याइँ गरेको उनको भनाइ छ । ४२ मिनेट २१ सेकेण्ड लामो फेसबुक लाइभका क्रममा ठाउँठाउँमा भक्कानिँदै उनी रुनसमेत पुगिन् ।

    वाद्यबादक खगेन्द्र विश्वकर्माले जीवनका उर्वर १२ वसन्त इन्द्रेणीमा बिताए पनि अहिले अपमानजनक ढंगले हटाउँदा दुःख लागेको बताए । इन्द्रेणीले हठात् बिदाइ गर्दा परिवारका आफूसँग आश्रित सदस्यलाई काठमाडौंमा राख्न कठिन भएको उनले गुनासो गरे ।

    नाताले कृष्ण कँडेलका भाइ पर्ने पूर्ण कँडेलले आफूमाथि इन्द्रेणीका सञ्चालकको इशारामा कुटपिट गरिएको बताए । कुटपिटबाट उनको अनुहारमा चोट लागेको छ । इन्द्रेणीमा कुटिएको चोट देखाउँदै भने, ‘कृष्ण कँडेलको इशारामा ममाथि इन्द्रेणीभित्रै हातपात भयो ।’

    अर्का वाद्यवादक लक्ष्मी घिमिरेले कृष्ण कँडेलले जहाँ टेक भन्यो त्यही टेकेर वर्षौं साथ दिँदा दिँदै अपमानजनक ढंगले हटाएको गुनासो गरे । काठमाडौंमा घर बनाइदिन्छु भनेर आश्वासन दिएका कँडेलले आफूसहित कलाकारलाई कुटपिट गरेर निकालेको उनले बताए । लक्ष्मी नाताले कँडेलका साला हुन् ।

    इन्द्रेणीमार्फत रकम जुटाएर असहायलाई सहयोग गर्दै आएका कँडेलले भने आफूमाथि लगाइएको आरोप झुटा, निराधार र कपोलकल्पित भएको बताएका छन् । एकपक्षीय ढंगले आफूमाथि आरोप लगाइएको भन्दै उनले त्यसमा विश्वास नगर्न र यसबारे समाचार नलेख्न पनि सञ्चारमाध्यमलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार